अत्तरिया – अत्तरिया उद्योग वाणिज्य संघको विवाद अझै सुल्झिन सकेको छैन । संघको नियमित क्यालेन्डर अनुसार पुस २७ गते महोत्सव आयोजना गर्ने गरी विवाद सुल्झाउने प्रयास गरिएको भए पनि विवाद ज्युँ का त्युँ रहेको हो । नक्कली टिकट ठेली प्रकरण पछि कार्यसमितिका ११ जनाले राजीनामा दिएपछि अन्योलतामा फसेको संघको विवाद सुल्झाउन पुस ९ गते समन्वय समिति बनाइएको भए पनि अझै निकास निस्किन सकेको छैन ।
संघका अध्यक्षले नै विवाद सुल्झाउने तदारुकता नदेखाउँदा विवाद लम्बिँदै गएको समन्वय समितिका सदस्य गोकर्ण भट्टले बताए । उनले समन्वय समिति बनेपछि राजीनामा दिएको पक्ष र अध्यक्ष (कल्याण सिंह बोहरा) लाई सँगै राखेर निकास निकाल्ने प्रयास गरे पनि अध्यक्षले ठोस जवाफ नदिँदा निकास निस्कन नसकेको बताए ।

‘हामीले दुवै पक्षलाई बसाएर छलफल गराएका थियौ । अध्यक्षले छलफलमा बस्दै हिँड्दै गरे’ उनले भने ‘हामीले हप्ता दिन भित्र आम भेला बोलाएर साधारण सभा तोक्नुस् भन्दा हुन्छ भने, खै अहिले सम्म केही गरेका छैनन् ।’ उनले अध्यक्षले पदाधिकारी थपेर निकास दिन खोजेको भए पनि तीन जना मात्रै थपेर साधारण सभा गर्न सुझाएको बताए । उनले अध्यक्षले ६ जना मनोनीत गर्न पाउँछु भन्नु विधान सम्मत नभएको बताए ।

अध्यक्ष कल्याण सिंह बोहराले भने आफू विधान अनुसार अगाडि बढ्ने बताउँदै ४ जना समितिमा मौजुद रहेको अवस्थामा ६ जना मनोनीत गर्ने बताए । उनले विधानमै ६ जना मनोनीत गर्ने अधिकार रहेको दाबी गरे । उनले तदर्थ समिति विधान अनुसार अहिले बनाउन नमिल्ने बताए । उनले भने ‘समितिको कार्यकाल नभएको खण्डमा तदर्थ समिति बनाउन मिल्छ । ४ जनाको कार्यकाल मौजुद भएको र, अध्यक्षले राजीनामा नदिएको अवस्थामा तदर्थ समिति बनाउन मिल्दैन ।’ उनले ६ जना मनोनीत गरेर सबैले सहमति जनाए महोत्सव पनि लगाउन सकिने बताए ।
राजीनामा दिएका निवर्तमान महासचिव शङ्कर खड्काले भने तदर्थ समिति बनाएर निर्वाचनमा जानु बाहेकका विकल्प नभएको बताए । उनले अध्यक्षले अहिले सदस्यहरू मनोनीत गर्ने तयारी गरे पनि त्यो विधान सम्मत नहुने बताए । ११ जनाले राजीनामा दिएपछि समिति नै अवैध भइसकेको उनको तर्क छ ।
‘अत्तरियामा अध्यक्ष ज्यु को यत्रो नाङ्गा नाच हुँदा हुँदै पनि अझै कति नाङ्गिन खोजेका हुन बुझ्न सकिएको छैन’ उनले भने ‘मनोनीत गरेर कार्यकाल पुरा गर्न र महोत्सव लगाउने नियत मात्रै देखिन्छ ।’ उनले विधान विपरीत गएर मनोनीत गरे व्यवसायी कानुनी प्रक्रियामा जाने बताए । उनले भने ‘तदर्थ समिति बनाएर संस्थालाई निकास दिने भन्ने सबै पक्षबाट आएको सुझाव हो । अध्यक्षले विधान भन्दा ठुलो बने हामी कानुनी प्रक्रियामा जान्छौ ।’ उनले अझै ढिलासुस्ती गरे यस क्षेत्रका व्यापारी अध्यक्षलाई जुत्ताको माला लगाउने अवस्था आउन सक्ने बताए ।
अत्तरिया उद्योग वाणिज्य संघको विवादले यस वर्ष पुस २७ देखि हुने महोत्सव अनिश्चित बनेको छ । बर्सेनि हुँदै आएको महोत्सव यस वर्ष के हुने भन्ने जनस्तरमा चासो बढेको भए पनि संघ भने अझै अनिर्णयको भुमरीमा फसिरहेको छ । अत्तरियामा गत वर्ष पुस २६ गतेदेखि माघ ७ गते सम्म सञ्चालन गरिएको महोत्सव नक्कली टिकट ठेली भेटिएपछि विवाद उत्पन्न भएर अदालतमा मुद्दा नै परेको थियो । अदालतमा मिलापत्रबाट मुद्दा किनारा लागेको भए पनि अध्यक्षमाथि नैतिकताको प्रश्न उठाउँदै समितिका ११ जना पदाधिकारी र सदस्यले राजीनामा दिएका थिए । १५ जनाको समितिमा ११ जनाले राजीनामा दिएपछि आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने अन्योल कायम भएको हो ।


















