धनगढी – कैलालीको धनगढीमा राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव सुरु भएको छ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ कैलालीको आयोजनामा सुरु भएको महोत्सवको सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले उद्धघाटन गरेका थिए । महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री शाहले समाज रूपान्तरण गर्न एउटा पुस्तकले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले नयाँ प्रविधिलाई आत्मसात् गर्दै यो महत्वलाई थप बढावा दिनुपर्ने बताए । उनले पुस्तकलाई प्रदर्शनी र व्यावसायिक रूपले मात्र नहेर्न व्यवासयीहरूलाई आग्रह गरे ।
‘समाज परिवर्तनका लागि पनि पुस्तकले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । पुस्तक भन्दाखेरी सामान्य ज्ञानका रुपमा विद्यालयमा लिइने शिक्षासँग जोडिने कुरामा मात्र होइन्’ उनले भने ‘बेद, महाभारत, गीता, विभिन्न खण्डकाव्य काव्य लगायतका सचनाका कुरा गर्नुस समाजलाई नैतिकवान बनाउने सन्दर्भमा,मानव सभ्यतालाई अगाडि बढाउने सन्दर्भमा त्यसले महत्व राख्दछ ।’ उनले प्रदेश सरकार शिक्षा क्षेत्रलाई अगाडि बढाउने काममा लागेको बताए । चाहेका कुरा पनि सीमित स्रोत साधनका कारण समयमा काम गर्न नसकिएको उनको भनाइ थियो । यस्ता प्रदर्शनीले हामीले जानकारी नपाएका कुरा पनि प्राप्त हुन सक्ने उनले बताए ।


१५ गतेसम्म सञ्चालन हुने महोत्सव सुदूरपश्चिम प्रदेशको पर्यटन, शिक्षा, स्टेशनरी, मसलन्द तथा छपाई व्यवसायको विकास तथा संस्कृतिको प्रवद्र्धनका लागि आयोजना गरिएको पुस्तक तथा स्टेशनरी व्यवसायी संघ कैलालीका अध्यक्ष भीम पडालले जानकारी दिए । ‘नवौं राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवबाट यस क्षेत्रको शैक्षिक, आर्थिक एवम् सामाजिक विकासमा सकारात्मक प्रभाव पार्ने आशा लिएका छौं,’ उनले भने, ‘महोत्सवले देशभरी छरिएर रहेका प्रकाशक, स्टेशनरी वितरक तथा मसलन्द सामाग्री र शिक्षासँग सम्बन्धित सम्पूर्ण सरोकारवालालाई एकीकृत गर्ने छ ।’
अध्यक्ष पडालका अनुसार महोत्सवमा एक सय स्टल राखिएको छ । महोत्सवलाई दुई लाख दर्शकले अवलोकन गर्नुका साथै पाँच करोड बढीको कारोबार हुने अनुमान गरिएको उनले जानकारी दिए । महोत्सव आयोजन गर्न झण्डै दुई करोड खर्च हुने अनुमान गरिएको छ ।
पुस्तक प्रदर्शनीसंगै महोत्सवमा विद्यालयस्तरीय नृत्य, कविता, वक्तृत्वकला र चित्रकला प्रतियोगितासंगै रमाइलो मेला र कलाकारका प्रस्तुती पनि हुने आयोजकले जनाएको छ । शिक्षा र खेलकुदका विषयमा बहस कार्यक्रम पनि राखिएको छ । महोत्सव अवलोकनका लागि विद्यार्थीलाई ५० टिकट दर राखिएको छ भने सर्वसाधारणलाई एक सय राखिएको छ । जेष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तीहरुलाई महोत्सवमा प्रवेश निशुल्कको व्यवस्था गरिएको अध्यक्ष पडालले जानकारी दिए ।













