एजेन्सी- विज्ञहरूले भारतको दिल्लीमा रहेको वायु प्रदूषण कोभिड–१९ महामारीभन्दा खतरनाक अवस्थामा रहेको चेतावनी दिएका छन् । एअर टेक्नोलोजी कम्पनी आईक्यू एअरका ग्लोबल प्रमुख कार्यकारी फ्रान्क ह्याम्सले अहिले दिल्लीमा रहेको विषाक्त हावाको प्रभाव कोभिड–१९ महामारीको तुलनामा जनस्वास्थ्यमा ठुलो प्रभाव पार्ने खालको रहेको बताएको बीबीसीले जनाएको छ ।

अहिले दिल्लीको वायु प्रदूषण मापन सूचक एक्यूआई ५८१ छ । यो विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले तोकेको सुरक्षित अवस्थाभन्दा १५ गुणाभन्दा धेरै हो । डब्ल्यूएचओका अनुसार एक्यूआई ४० सम्म हुनु सुरक्षित हुन्छ । तर दिल्लीमा त्यसको ३५ गुणासम्म पुग्ने गरेको छ । एक्यूआई ३ सय भन्दामाथि पुग्नुलाई घातक मानिन्छ । यो अवस्था दिल्लीमा लामो समयदेखि छ ।


लगातार महिना दिनभन्दा बढी समय खराब हावा भइरहनु स्वास्थ्यका लागि अत्यन्तै जोखिमपूर्ण हुने आईक्यू एअरका कार्यकारी ह्याम्सले बताए । दिल्लीमा लामो समय प्रदूषण भइरहेकोले अरू उपाय नखोजे अवस्था भयावह हुने विज्ञहरूले चेतावनी दिएका छन् ।