धनगढी – कैलालीको धनगढीमा राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव हुने भएको छ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ कैलालीको आयोजनामा पुस ९ गतेदेखि १५ गतेसम्म शैक्षिक महोत्सव हुने भएको हो ।

आयोजकले शुक्रबार धनगढीमा पत्रकार सम्मेलन गर्दै धनगढी उपमहानगरपालिका–१ पशुपति टोलमा महोत्सव हुने जानकारी दिएको हो । पुस्तक तथा स्टेशनरी व्यवसायी संघ कैलालीका अध्यक्ष भीम पडालका अनुसार सुदूरपश्चिम प्रदेशको पर्यटन, शिक्षा, स्टेशनरी, मसलन्द तथा छपाई व्यवसायको विकास तथा संस्कृतिको प्रवर्द्धनका लागि महोत्सव भइरहेको जानकारी दिए ।

अध्यक्ष पडालका अनुसार महोत्सवमा एक सय ५० स्टल रहने छन् । महोत्सवलाई दुई लाख दर्शकले अवलोकन गर्नुका साथै पाँच करोड बढीको कारोबार हुने अनुमान गरिएको उनले जानकारी दिए । महोत्सव आयोजन गर्न झण्डै दुई करोड खर्च हुने अनुमान गरिएको छ ।
यसअघि २०६७ सालमा धनगढीमा राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव भएकोमा १४ वर्षपछि फेरि धनगढीमा आयोजना गर्न लागिएको हो ।