दार्चुला- दार्चुला जिप दुर्घटनामा मृतकको संख्या आठ जना पुगेको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार ६ जनाको घटनास्थलमै र दुई जनाको अस्पताल लैजाँदै गर्दा बोटोमै मृत्यु भएको हो ।
मृत्यु हुनेमा दार्चुलाको शैल्यशिखर नगरपालिका ९ नकतडका ४५ वर्षीय दिलिप विष्ट, सोही ठाउँकी ४० वर्षीया मीना लेखक, शैल्यशिखर नगरपालिका-५ लेकगाउँका ३० वर्षीय वीरेन्द्र रावल र सोही ठाउँकी २५ वर्षीया शान्ति रावल, बैतडीको डिलाशैनी गाउँपालिका-५ नगराउँका १६ वर्षीय सुजीव बोहरा, डिलाशैनी-५ कै ५० वर्षीया विरेन्द्र बोहरा, भारतको उत्तर प्रदेश बिजनर जिल्लाको मुवारक बस्ने ४५ वर्षीय महोम्मद शाकिर र उत्तर प्रदेशकै मेजावट बस्ने १८ वर्षीय मोहम्मद ओसिल रहेका दार्चुला प्रहरीका प्रवक्ता प्रहरी निरीक्षक छत्र रावतले बताए ।
दुर्घटनामा ५ जना घाइते भएका छन् । जिप चालक दार्चुलाको मालिकार्जुन गाउँपालिका-८ पस्तीका ३० वर्षीय सुनिल जोशी, बैतडीको डिलाशैनी गाउँपालिका-५ का २८ वर्षीय उत्तम रोकाया, दार्चुलाको शैल्यशिखर नगरपालिका-५ लेकगाउँका ८ वर्षीय सन्दीप रावल, ठेगाना खुल्न नसकेका प्रकाश रावल र भारतको पिलभित जिल्ला मारुडण्डा बस्ने १७ वर्षीय सोहिन शाह रहेका छन् । घाइतेमध्ये चालक जोशीको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।
शुक्रबार बिहान ४ बजेतिर मालिकार्जुन मन्दिरको जात्रा हेरेर फर्किएका दर्शनार्थी चढेको म१ज ३३८ नम्बरको जिप महाकाली लोकमार्ग अन्तर्गत शैल्यशिखर नगरपालिका-६ बजानीमा दुर्घटना भएको हो । मालिकार्जुनबाट गोकुलेश्वरतर्फ आइरहेको सो जिप सडकबाट अन्दाजी एक सय मिटर तल खसेको र दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।