दार्चुला- दार्चुलाका दुई स्थानीय तहमा आज र भोलि सार्वजनिक बिदा दिइएको छ । राष्ट्रकै सातौँ धामको रुपमा रहेको प्रसिद्ध मालिकार्जुन धाम जात्राको अवसरमा शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकाले सार्वजनिक बिदा दिएका हुन् ।
मालिकार्जुन धाममा आज कार्तिक शुक्ल त्रयोदशीका दिन शिखर पूजन जात्रा हुने र भोलि कार्तिक शुक्ल चतुर्दशीका दिन मालिकार्जुन मन्दिरमा जात्रा हुने भएकाले बिदा दिइएको सम्बन्धित स्थानीय तहहरुले जनाएका छन् ।
मालिकार्जुन धामको जात्रामा स्थानीयहरुको सहभागितालाई ध्यानमा राखेर हरेक वर्ष जस्तै यो वर्ष पनि बिदा दिइएको शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्टले बताए ।