अत्तरिया – कैलालीको अत्तरियामा भएको अपाङ्गता भएका शिक्षकहरूको भेलाबाट ‘सुदूरपश्चिम अपाङ्गता शिक्षक समाज गठन’ गरिएको छ । छठ पर्वको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा भेला भएका शिक्षकहरूको भेलाले शिक्षक समाजको तदर्थ समिति गठन गरेको हो । सुप समावेशी आधारभूत विद्यालयको सभा हलमा भएको भेलाले शिक्षक मानबहादुर साउदको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा मातृका उपाध्याय, सचिवमा अर्जुन बहादुर रावल, सह सचिवमा तेज बहादुर सुनार, कोषाध्यक्षमा तुलसी जोशी रहेका छन् । त्यस्तै सदस्यहरूमा ज्ञानेन्द्र बास्तोला, कोपिला आचार्य, शान्ति विष्ट, अम्बादत्त भट्ट, खेमा रावल र चन्द्र प्रसाद जोशी रहेका छन् ।
अपाङ्गता भएका शिक्षकहरूले आफ्ना पेसागत हक अधिकारहरू ओझेलमा पर्दै आएको भन्दै पेसागत हकहित प्रवर्द्धन गर्ने उद्देश्यले शिक्षक समाज गठन गरिएको जनाइएको छ । शिक्षक समाजले नितान्त रूपमा सबै प्रकारका अपाङ्गता भएका शिक्षकहरूको हकहितको लागि, पेसागत विकासका लागि, नीतिगत प्रावधानका लागि वकालत र पैरवी गर्ने अध्यक्ष साउँदले बताए ।
उनले शिक्षक समाजलाई सुदूरपश्चिमका ९ वटै जिल्लामा आफ्ना समितिहरू गठन गरिने बताए । भेलामा कैलाली कञ्चनपुर लगायतका जिल्लाहरू गरी २८ जनाको उपस्थिति रहेको थियो । कार्यक्रममा छठको शुभकामना समेत आदानप्रदान गरिएको थियो । शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना राष्ट्रिय अपाङ्ग महासंघ सुदूरपश्चिम प्रदेशले गरेको थियो ।