अत्तरिया – कैलालीको अत्तरियाका सडक किनार अहिले तिहारका सामग्रीले झकिझकाउ भएका छ्न । तिहारका लागि आवश्यक पर्ने पूजा सामग्री, माला लगायत सजावटका सामानले सडक किनार रंगीचंगी बनेका छन ।
अन्य समयमा सडक किनारामा व्यापार गर्न रोक लगाईएको भएपनि तिहार अवधिमा नगरपालिकाले पनि ब्यापार गर्न छुट दिएको छ । जसको फाईदा उठाउदै ब्यापारी बिच तिहारको सामान बेच्न तछाडमछाड चलिरहेको छ ।


तर, यसरी सामान बेच्ने अधिकाश ब्यापारी भने भारतीय छ्न । उनीहरुले बेच्ने सामान पनि भारतबाटै ल्याएका छ्न । तिहारको तीन दिनको अवधिमा राम्रै ब्यापार हुने भएपनि उक्त ब्यापारमा नेपालीहरु खासै आकर्षीत हुन नसकिरहेका बेला अत्तरियामा रहेको एभरेष्ट एकेडेमीले भने यस वर्ष तिहारका सामानको स्टल राखेर विद्यार्थीहरुलाई परिचालन गरेको छ । कक्षा ११ मा पढ्ने करिब २५ जना विद्यार्थीले तिहारका पूजाका सामान, फूलको माला विक्री गरिरहेका छ्न ।
विद्यार्थी पुर्णिमा भण्डारीले तिहारका सामान विक्री गर्दा धेरै सिकाई भएको बताए । उनले ब्यापार गर्दा मानिसहरू सग कस्तो व्यवहार गर्नु पर्दो रहेछ, के कस्ता समस्या आउदा रहेछन भन्ने बारेमा जानकारी मिलेको बताए । ‘सुरुका दिन बोल्न पनि अलि गाह्रो हुन्थ्यो’ उनले भनीन ‘अहिले बानी परिसक्यौ बोल्न केही लाग्दैन । आगामी दिनमा यस्तो काम सजिलै गर्न सकिन्छ जस्तो लागेको छ ।’

एभरेष्ट एकेडेमीका शिक्षक धिरज महरले स्टलमा ब्यापार पनि रामै भैइरहेको बताए । उनले ब्यापार राम्रो हुँदा विद्यार्थी पनि उत्साहित भएर विक्री गर्न लागेको बताए ।
एकेडेमीका सहायक प्रधानाध्यापक धर्म राज भट्टले कक्षा ११ र १२ मा विद्यार्थीका लागि पढ्दै कमाउदै अभियान सुरु गरिएको बताए । उनले अभियानको मुख्य उद्देश्य विद्यार्थीहरु किताबमा मात्रै सिमित नरहेर किताब भन्दा बाहिरको ब्यवहारीक ज्ञान सिकाउनु रहेको बताए । उनले विद्यार्थीहरुलाई व्यवहारीक ज्ञान सिकाउन तिहारमा तीन दिनका लागि स्टल राखिएको बताए ।



















