धनगढी – कैलालीको धगढीमा रहेको कैलाली बहुमुखी क्याम्पस (केएमसी) मा ‘स्टार्टअप आइडिया प्रतियोगिता २०८१’ हुने भएको छ । विद्यार्थीलाई उद्यम व्यापार र स्वरोजगारसँग जोड्न स्वतन्त्र विद्यार्थी युनियन केएमसीले प्रतियोगिता आयोजना गर्न लागेको हो ।
कैलाली बहुमुखी क्याम्पसका स्ववियु अध्यक्ष यमराज जोशीले सहभागी विद्यार्थीले उद्यम, व्यापार, कृषि, पर्यटन र विज्ञान लगायतका जुनसुकै विषय र क्षेत्रसँग सम्बन्धित रहेर प्रतियोगितामा सहभागी हुन सकिने बताए ।
योजना प्रस्तुत गर्दा उपलब्ध साधन स्रोतबाट सम्भव छ या छैन त्यसको आधारसहित प्रस्तुत गर्नुपर्ने छ । प्रतियोगितामा एकल योजना पनि बनाउन सकिनेछ भने बढीमा चार जनाको समूह बनाउन पाइनेछ । प्रतियोगितामा स्नातक वा स्नातकोत्तर तहको नियमित विद्यार्थी हुनुपर्ने सर्त राखिएको छ ।
प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार र द्वितीय हुनेलाई २५ हजार पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ । साथै प्रतियोगितामा सहभागी उत्कृष्ट पाँच योजनालाई सुदूरपश्चिम विश्वविद्यालय इन्क्युवेसन सेन्टरले माग गरेको व्यावसायिक योजनामा पेस गर्न सहयोग गरिनेछ ।
प्रतियोगितामा सहभागी हुनका लागि कार्तिक १४ गतेसम्मको समय तोकिएको छ । कार्तिक २५ गतेसम्म सर्ट लिस्ट गरेर ३० गतेभित्र फाइनल नतिजा प्रकाशन गरिने जनाइएको छ ।