धनगढी – ऐश्वर्य विद्या निकेतनका प्राचार्य तथा वरिष्ठ शिक्षासेवी प्रेमनीधि ओझा सम्मानित भएका छन्। शनिवार धनगढीमा सिर्जनशील गडसेरी समाजद्वारा आयोजित छैठौ साधारण सभा तथा शुभकामना आदानप्रदान समारोहमा प्राचार्य ओझालाई प्रदेश सरकारका अर्थ राज्यमन्त्री प्रकाश बम र सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टीएन जोशीले दोसल्ला र अभिनन्दनपत्रबाट सम्मानित गरेका हुन ।

समारोहमा बोल्दै अर्थ राज्यमन्त्री बमले समाजलाई गतिशील बनाउन र रचनात्मक कार्यका लागि गडसेरी समाजले प्रशंसनीय कार्य गरिरहेको बताए।

समारोहमा सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानका उपकुलपति तथा संस्कृतिविद् डा. टीएन जोशीले गडसेरा सांस्कृतिक दृष्टिले पनि महत्त्वपूर्ण क्षेत्र भएको बताउँदै सिर्जनशील गडसेरी समाजसँग सहकार्य गर्न प्रतिष्ठान इच्छुक रहेको बताए। उनले डोटेली भाषालाई प्रदेशको मानक भाषा बनाउनका लागि छलफल थालिने बताए।

गडसेरी समाजका अध्यक्ष भोजबहादुर शाहको अध्यक्षतामा सम्पन्न समारोहमा विश्लेषक गडसेरी माइला, सह प्रा। प्रेमराज भण्डारी, साहित्यकार सुभाष संकल्प भण्डारी, लेखराज ओझा, पूर्व जिविस सदस्य दीर्घराज भट्ट, सम्मानित व्यक्तित्व प्रेमनीधि ओझा, पूर्व उपमेयर सुशीला मिश्रलगायतले शुभकामना प्रकट गरेका थिए।
समारोहमा सिर्जनशील गडसेरी समाजका आजीवन सदस्यको उल्लेख्य उपस्थिति थियो ।


















