अत्तरिया – कैलालीको अत्तरियामा रहेको सुप समावेशी आधारभूत विद्यालय बाल बालिकाहरूको पौष्टिक आहार सम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ । शनिवार परिलक्षितको आर्थिक सहयोगमा विद्यालयले उक्त कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा पोषण, कुपोषण, सन्तुलित आहार, पोषण र मस्तिष्कको बारेमा, पोषण र जीवनको बारेमा, पोषणले गर्ने फाइदाको बारेमा र कुपोषणको चक्रको बारेमा समेत सहभागीहरूलाई जानकारी गराइएको थियो ।
विद्यालयले बालबालिकाहरूका लागि बाल संरक्षण र बाल अधिकारको बारेमा ज्ञान हुन र पौष्टिक आहार सम्बन्धी जानकारी हुन अति आवश्यक भएकाले परिलक्षित संस्था सँगको समन्वय सहकार्यमा कार्यक्रम आयोजना गरेको जनाएको छ । उक्त कार्यक्रममा सहजिकरण तथा प्रशिक्षक विकास रोकायाले गरेका थिए ।
विद्यालयले यसअघि पनि परिलक्षितको आर्थिक सहयोगमा असोज ३ गतेका दिन बाल क्लब, शिक्षक कर्मचारी, अभिभावक, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, वडा प्रतिनिधिहरूको उपस्थितमा बाल अधिकार र बाल संरक्षण सम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरेको थियो ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेशका मानव अधिकार अधिकृत दैवज्ञराज न्यौपानेले कार्यक्रममा बाल अधिकार, बाल संरक्षण नीति र काम कर्तव्य अधिकारको बारेमा जानकारी गराएका थिए ।