अत्तरिया – कैलालीको गोदावरी नगरपालिका– ३ मा रहेको खप्तड विद्या निकेतनले सुप समावेशी आधारभुत विद्यालयलाई स्टेशनरी एवम् फलफुल सहयोग गरेको छ । ६०औ राष्ट्रिय बालदिवसको अवसरमा गोदावरी – २ मा रहेको अपांगता भएका बालबालिका अध्ययनरत उक्त विद्यालयलाई खप्तड विद्या निकेतनले सहयोग गरेको हो ।
विद्यालयमा रहेका विभिन्न बालक्लबहरुमा आवद्ध विद्यार्थीहरुले दिवसको अवसरमा सुप समावेशी आधारभुत विद्यालयलाई स्टेशनरी एवम् फलफुलहरु सहयोग गरेको विद्यालयका सञ्चालक श्याम खत्रीले जानकारी दिए । उनले विद्यालयले प्रत्येक वर्ष बालदिवस मनाउदै आएको बताए । दिवसका अवसरमा बालबालिकाहरुलाई बालदिवसको औचित्य सम्झाउन सुप समावेशीका अपांगता भएका बालबालिकाहरुलाई सानो सहयोग गरिएको उनको भनाई छ ।



उनले विद्यार्थीहरुलाई समाजका हरेक पक्षसँग जोडेर एउटा असल समाज निर्माण गर्नुपर्छ भन्ने उद्देश्यले खप्तड विद्या निकेतनले पठनपाठन मात्रै नभई सामाजिक क्षेत्रका कार्यहरुलाई पनि महत्व दिने गरेको बताए ।
गोदावरी नगरपालिका – २ का वडासदस्य डबल बहादुर साउँदले विद्यालयलाई गरिएको सहयोगमा आयोजक प्रति धन्यवाद ज्ञापन गरे । उनले बालबालिकालाई हकअधिकारहरु दिन सके मात्रै भविष्यमा असल समाज निर्माण हुन सक्ने बताए । उनले बालबालिकाहरुलाई बालअधिकारबाट बञ्चित गराउन नहुने बताए । बालअधिकार दिवसहरु मनाईरहदा हालसम्म पनि बालअधिकारको नाराले पुर्णता पाउन नसकेको उनको गुनासो थियो । उनले सरकारले त्यसलाई व्यवस्थीत रुपमा पुर्णता दिन सके सक्षम मात्रै नभई असक्षम बालबालिकाहरु पनि आत्मनिर्भर बन्न सक्ने बताए ।
विद्यालयका संस्थापक अध्यक्ष मान बहादुर साउँदले खप्तड विद्या निकेतनले गरेको कार्यक्रमले अपांगता भएका बालबालिकाहरुको अनुहारमा खुसी छाएको बताए । उनले पछाडी परेको वर्गलाई मुलधारमा ल्याउन र उनिहरुको प्रतिभा बाहिर ल्याउन यस्ता किसिमका अतिरिक्त कार्यक्रमहरु हुन जरुरी रहेको बताए । उनले विद्यालयमा आएर बालदिवसको अवसरमा विद्यालयमा अध्ययनरत अपांगता भएका बालबालिकाहरुको मुहारमा उज्यालो छरिदिएको भन्दै खप्तड विद्या निकेतन परिवारलाई धन्यवाद ज्ञापन गरे ।
विद्यालयकी अध्यक्ष बिष्ना बोहराको सभापतित्वमा एक कार्यक्रमको आयोजना गरी खप्तड विद्या निकेतनका बालबालिकाहरुले सहयोग सामग्रीहरु हस्तान्तरण गरेका थिए । खप्तडबाट स्टेशनरी सामग्री, खेलकुद सामग्री तथा फस्ट एड बक्स सुप समावेशी आधारभुत विद्यालयकी प्रधानाध्यापक देवी साउँदलाई हस्तान्तरण गरिएको थियो । ‘बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी’ भन्ने मुल नाराका साथ आयोजित कार्यक्रममा सुप समावेशी आधारभुत विद्यालय र खप्तड विद्या निकेतनका बालबालिकाहरुले नृत्य पनि प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन खप्तड विद्या निकेतनका शिक्षक भुवन भट्टले गरेका थिए ।
















