अत्तरिया – कैलालीको अत्तरियामा नव साक्षर पठन अभ्यास प्रतियोगिता आयोजना गरिएको छ । ५८औ अन्र्तराष्ट्रिय साक्षरता दिवसका अवसरमा गोदावरी नगरक्षेत्रभित्र रहेका ५ वटा सामुदायिक सिकाई केन्द्रहरुले उक्त प्रतियोगिता आयोजना गरेका हुन ।
प्रतियोगितामा प्रत्येक सिकाई केन्द्रबाट ३/३ जना प्रतियोगिहरु ल्याईएको अत्तरिया सामुदायिक सिकाई केन्द्रका अध्यक्ष टिकादत्त जोशीले जानकारी दिए । उनले प्रौढ शिक्षा पढेकाहरुलाई सिकाई सम्बन्धी कत्तिको जानकारी छ भन्ने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गरिएको बताए ।


‘हिजोको दिनमा हामीले विभिन्न टोल गाउँमा अनौपचारिक शिक्षाका माध्यमबाट साक्षरता कक्षा चलाएका थियौँ’ उनले भने ‘त्यो साक्षरता शिक्षा चलाएवाफत अहिलेसम्म ति सहभागिहरुको मेमोरीमा कति बाँकी रहेको छ भन्ने बुझ्नका लागि हामीले यो कार्यक्रम चलाएका हौ ।’ उनले प्रतियोगितामा प्रत्येक सिकाई केन्द्रहरुबाट ३÷३ जना प्रतियोगिहरु बोलाईएको भएपनि १४ जना मात्रै सहभागि भएको बताए ।
प्रतियोगितामा अत्तरिया सामुदायिक सिकाई केन्द्रकी शारदा राना प्रथम भएकी छन । उनले नगद रु. २ हजार सहित प्रमाणपत्र प्राप्त गरिन । यस्तै अत्तरिया सामुदायिक सिकाई केन्द्रकै प्रभा राना चौधरीले द्धितिय स्थान हासिल गर्न सफल भएकी छन । उनले नगद रु. १ हजार ५ सय सहित प्रमाणपत्र प्राप्त गरिन । तृतिय स्थान हासिल गरेकी ग्वासी सामुदायिक सिकाई केन्द्रकी शारदा देवी कडायतले नगद रु. १ हजार सहित प्रमाणपत्र र सान्त्वना भएकी बेलादेवीपुर सामुदायिक सिकाई केन्द्रकी तारा चन्दले नगद रु. ५ सय सहित प्रमाणपत्र प्राप्त गरिन । विजयी सबैलाई सोही कार्यक्रममा नगरप्रमुख विरेन्द्र भट्टले पुरस्कार वितरण गरेका थिए ।
गोदावरीमा वडा नं. १, २ ४ र ५ का लागि अत्तरिया सामुदायिक सिकाई केन्द्र, वडा नं. ६, ७ र ८ का लागि जनचेतना सामुदायिक सिकाई केन्द्र, वडा नं. ९ का लागि बेलादेवीपुर सामुदायिक सिकाई केन्द्र, वडा नं. ३ र १० का लागि ग्वासी सामुदायिक सिकाई केन्द्र र वडा नं. ११ र १२ का लागि ओलानी सामुदायिक सिकाई केन्द्र सञ्चालनमा रहेका छन । ति सामुदायिक सिकाई केन्द्रहरुले शिक्षाका विभिन्न विषयहरुमा कार्य गर्ने गरेको छ ।


















