अत्तरिया – कैलालीको ओलानी क्षेत्रमा बत्ती जाने आउने समस्या बढेपछि स्थानीय हैरान भएका छन् । केही दिन यता सो क्षेत्रमा बत्ती कम आउने बढी जाने समस्या हुन थालेपछि स्थानीय हैरान भएका हुन । स्थानीय रमेश ताम्राकारले तीन दिन बत्ती नै नआएको र, तीन दिन पछि बत्ती आउँदा पनि आउने जाने समस्या भइरहेको बताए । उनले बत्ती किन काटिएको भन्ने बारेमा पनि आफूहरू अनविज्ञ रहेको बताए ।
‘विद्युत् कार्यालयमा फोन गरेपछि स्पष्ट कारण नै भन्दैनन् । मर्मत भइरहेको छ आउँछ मात्रै भनिन्छ’ उनले भने ‘घरी घरी बत्ती गइरहेकाले दैनिक कामकाज प्रभावित हुनुका साथै राती अन्धकारमा बस्नुपर्ने बाध्यता रहेको छ ।’ उनले यसअघि वीर भद्र सहकारी मार्फत विद्युत् वितरण हुँदा चाँडो मर्मत हुने गरेको भए पनि अहिले नेपाल विद्युत् प्राधिकरण अन्तरगत आउँदा मर्मतमा ढिलाइ हुने गरेको बताए ।

स्थानीय शेर बहादुर तामाङले बत्ती जाने आउने समस्या उस्तै रहेको बताए । गोदावरी नगरपालिका – १० का वडा सदस्य समेत रहेका उनले विगत २÷३ दिन यता धेरै बत्ती आउने जाने समस्या भइरहेको बताए । उनले पनि किन बत्ती जाने गरेको बारेमा पनि प्राधिकरणले स्पष्ट कारण नभन्ने गरेको बताए । ‘किन बत्ती गएको भन्दा कहिले ट्रान्सफर्मरमा समस्या आयो । कहिले केही भयो भन्छन्’ उनले भने ।

ओलानी क्षेत्रमा नो लाइट कार्यालय अत्तरियाले विद्युत् वितरण गर्दै आएको छ । जसका लागि ११ केभीको छुटै ओलानी फिडर बनाइएको छ । नो लाइट अत्तरियाका प्रमुख सुनिल खड्काले पनि विगत केही दिन यता ओलानी फिडरमा समस्या आएको बताउँदै त्यसको फरक फरक कारण रहेको बताए । उनले संयोगवश दुई तीन किसिमका समस्या एकै पटक देखिदा ओलानी फिडरमा केही दिन समस्या आए पनि अहिले विद्युत् सुचारु भइसकेको बताए ।
‘ओलानी क्षेत्रमा केही दिन यता समस्या आएको छ । कहिले केही कहिले केही समस्या देखिएका कारण यस्तो भएको हो’ उनले भने ‘कहिले ११ केभीको लाइनमा जोडिएको डिस्पीनर पड्किने, कहिले हावाहुरीले रुख ढल्ने समस्या देखिने गरेको छन् ।’ उनले केही जङ्गलको क्षेत्र पनि भएकाले समस्या पहिचान गर्न समय लाग्ने गरेकाले पनि ढिलाइ हुने गरेको बताए ।
‘यो लाइन चाप सल्ली सम्मै पुगेको छ । कहिले काहीँ डिस्पीनर पड्किदा कुन ठाउँमा पड्किएको हो भनेर पहिचान गर्न समस्या हुन्छ’ उनले भने ‘स्थानीयले समस्या आउने बित्तिकै खबर गरिदिए काम गर्न अझ सहज हुन्छ । कहिले काहीँ पड्किएको आगो स्थानीयले देखेको भए पनि ठाउँ पहिचान गर्न सहज हुन्छ ।’
सुगम जिल्लाको सुगम पालिका हुँदा हुँदै पनि हाल सम्म स्तरीय सडक सञ्जाल नजोडिएको यो क्षेत्रमा पटक पटक विद्युत् पनि जाने आउने समस्या थपिदा स्थानीय हैरान भएका छन् । ओलानी क्षेत्रमा विद्युत् अनियमित हुँदा खानेपानीको वितरणमा पनि समस्या आउने गरेको छ । विद्युतबाट चल्ने बोरिङबाट खानेपानी आपूर्ति गरिँदै आएकाले विद्युत् नियमित सुचारु नहुँदा खानेपानीको पनि समस्या आउने गरेको हो ।














