धनगढी – कैलालीको भजनी नगरपालिका र कैलारी गाउँपालिका क्षेत्रका सयौं घर डुबानमा परेका छन । ९ वडा रहेको भजनी नगरपालिकाका मात्रै ५ हजार घरधुरी डुबानमा परेका छन भने ९ वटा वडा रहेको कैलारीको वडा नम्बर २, ६ ९ बाहेक सबै वडाको अधिकांश क्षेत्र डुबानमा परेका छन ।
भजनीका प्रवक्ता विक्रम चौधरीले नगरपालिकाको वडा नं. ३, ८, ५, ७, ९, २ को मोहनपुर, पल्टुपुर, तीनघरुवा, वडा नं ४ को बिजुलिया, झल्झलिया, खैलाड, कुडी गाउँ डुबानमा परेको बताए । बिहीबार बिहानैदेखि भजनी नगरपालिकास्थित काँढा, पथरैया, कान्द्रा र मोहना नदीमा आएको बाढी बस्तीमा पसेपछि ५ हजार घरधुरी डुबानमा परेको प्रवक्ता चोधरीले बताए ।

जसमध्ये करिब ९ सय घरधुरीलाई सुरक्षित स्थानमा सारिएको चौधरीले बताए । नदीमा पानीको सतह बढ्दै गएकोले विस्थापितको संख्या बढ्दै जाने उनको भनाइ । वडाको जनप्रतिनिधि, सशस्त्र प्रहरी, नेपाल प्रहरीको टोलीले बिहानैदेखि उद्धारको कार्यमा खटिएका छन् । भजनी क्षेत्र वर्षेनी डुबानमा पर्दै आएको छ ।

कैलालीरा हालसम्म ४८९ घर डुबानमा परेको गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष राजसमझ चौधरीका अनुसार वडा नम्बर १ का १०३ घर, वडा नम्बर ५ का १७४, वडा नम्बर ७ का ७०, वडा नम्बर ८ का ८१ र वडा नम्बर ४ का २५ घर डुबानमा परेको अध्यक्ष चौधरीले बताए । पालिकाका २९ जनालाई वडा नम्बर ५ को वडा कार्यालय सारिएको छ ।
राहत र उद्धारमा सहयोग गर्न आव्हान
यसैबिच नेपाली कांग्रेस कैलालीले विपद्को बेलामा बाढीबाट प्रभावित जनतालाई राहत र उद्धारमा सहयोग गर्न आव्हान गरेको छ । जिल्ला कार्यसमिति सचिव नृपबहादुर सुनारले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाली कांंग्रेस कैलाली पार्टीका सबै तह तथा भातृ एवं शुभेच्छुक संस्थालाई सो आव्हान गरेका हुन् ।
कैलालीका अधिकांश स्थानमा पछिल्लो दुई दिनदेखि लगातार परिरहेको भारी वर्षाका कारण जनजीवन प्रभावित भएको छ । वर्षाका कारण नदीहरूमा आकस्मिक बाढीको तह तथा नदीको बहाव निरन्तर बढदै गएकाले सडक, पुल लगायत किसानहरुको खेती योग्य जमिन कटान हुँदै गएको छ भने नदीहरूमा आएको बाढीले होचो भू–भाग डुबान भई नागरिकले घर भित्र राखेको खाद्यान्न, लुगाकपडामा क्षति पुग्नुका साथै पशुचौपाय, बालबालिका र वृद्धबृद्धाहरूको जनजीवन कष्टकर भएको छ ।
अझै केही दिन लगातार पानी पर्ने सम्भावना रहेकोले कैलाली जिल्लाको मोहना, कान्द्रा, खुटिया, कर्णाली, गौरीगंगा, लिक्मा, शिवगंगा पथरैया र गोदावरी नदी लगायत अन्य सहायक नदीहरूमा पानीको वहाब बढ्ने हुँदा यी नदी तटिय क्षेत्रका आसपासमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कताका साथ बस्न र बाढी डुबानबाट हुने क्षतिकम गर्न तथा खाद्यन्न लगायत पशुचौपायलाई उच्च स्थानमा स्थानान्तरण गर्न तिनै तहका सुरक्षा निकाय, रेडक्रसलगायत विभिन्न सामाजिक संघसंस्था र नागरिक स्वयंमई विपत्तिको सामना गर्न कांग्रेस कैलालीले अपिल गरेको छ ।
















