खाेज्नुहाेस

१२ बर्षमा विदेशी भूमिमा साढे नौ हजार नेपाली श्रमिकको मृत्यु

Image

काठमाण्डौं – पछिल्लो १२ वर्षमा ९ हजार ४४२ जना नेपाली श्रमिककको मृत्यु विदेशका कार्यस्थलमा भएको तथ्यांक छ । वैदेशिक रोजगार बोर्डले अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा सार्वजनिक गरेको आह्वानपत्र अनुसार वैदेशिक रोजगारीका क्रममा २ सय १७ महिलासहित ९ हजार ४४२ श्रमिकको मृत्यु भएको छ ।

स्वदेशमा नै रोजगारीका अवसर उपलब्ध हुन नसक्दा बाध्य भएर वैदेशिक रोजगारीमा जानु नेपालीको बाध्यता बन्दै गएको छ भने सहज वातावरण निर्माण हुन नसक्दा मृत्यु हुनेको तथ्यांक घट्न सकेको छैन ।

attariya hospital

बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले वैदेशिक रोजगारीमा जाने प्रवृत्ति बढ्दै जाँदा स्वदेशमा श्रम शक्तिको अभाव, सामाजिक रूपमा पारिवारिक विखण्डन लगायतका नकारात्मक प्रभाव एवं बौद्धिक तथा श्रम पलायन आदि जस्ता प्रमुख चुनौतीहरु बढ्दै गएको बताए । पछिल्लो समयमा आएर कोभिड–१९ को विश्वव्यापी संक्रमणका कारण समेत मृत्युको संख्या बढेको छ ।

navjiwan hospital

मृत्यु बढ्दै गएपछि मृतकका परिवारले पाउने क्षतिपूर्ति रकम पनि बढ्दै गइरहेको बोर्डले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ । गत आवको १० महिनासम्ममा श्रमस्वीकृति लिई वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका २७ महिला र १ हजार ७२ पुरुष सहित १ हजार ९९ जना नेपाली श्रमिकका नजिकको हकदारलाई वैदेशिक रोजगार बोर्डले ७० करोड २५ लाख ८५ हजार आर्थिक सहायता प्रदान गरेको थियो ।

बोर्डका कार्यकारी निर्देशक श्रेष्ठले गत आवमा १ सय १४ पुरुष तथा ५ महिला गरी १ सय १९ जना बिरामी एवं अंगभंग भएका श्रमिकलाई स्वास्थ्य उपचार खर्च क्षतिपूर्ति बापत ४ करोड ४९ लाख प्रदान गरिएको बताए । वैदेशिक रोजगारीका क्रममा कोभिङ– १९ संक्रमणका कारण श्रम गन्तव्यमा नै मृत्यु भएका र सोही देशमा नै अन्त्येष्टिका लागि सहमति प्रदान गर्ने २ सय ३४ परिवारका सदस्यमध्ये यस अवधिभित्र ७८ परिवारलाई बोर्डको निर्णयानुसार प्रति परिवार थप ५० हजार सान्त्वना राहत सहयोग गरिएको छ ।

कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणको योगदान औसत २५ प्रतिशत रहनुले वैदेशिक रोजगारको महत्वलाई उजागर गरेको भए पनि यस क्षेत्रलाई सुरक्षित बनाउन सकिएको छैन ।

आव २०६४/०६५ देखि २०७७/०७८ सम्ममा मात्रै झन्डै ७० खर्ब विप्रेषण नेपाल भित्रिएको राष्ट्र बैंकको तथ्यांक छ । यसरी वैदेशिक रोजगारीबाट ५६ प्रतिशत घरधुरीले नियमित रुपमा विप्रेषण पाइरहेको तथ्यलाई मान्दा र प्रति घरधुरी औसत परिवार संख्या ४.८८ को आधारमा नेपालमा हाल ३० लाख ३९ हजार घरधुरीका १ करोड ४८ लाखभन्दा बढी मानिस अहिले पनि वैदेशिक रोजगारबाट प्राप्त हुने विप्रेषणमा आश्रित रहेका छन् ।