खाेज्नुहाेस

जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी बजेट पुनर्लेखन गरिने छ : मुख्यमन्त्री भट्ट

Image

धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी बजेट पुनर्लेखन गरिने बताएका छन् । बुधबार नेपाल पत्रकार महासंघ डडेल्धुराले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री भट्टले सो कुरा बताएका हुन ।

उनले प्रदेश सरकारले बजेटविहीनताको अवस्था अन्त्य गर्दै फास्ट ट्रयाकबाट नयाँ बजेट ल्याउने बताए । उनले जनताको वास्तविक आवश्यकता र प्राथमिकतालाई केन्द्रमा राखेर जनजीविकासँग प्रत्यक्ष जोडिएका विषयलाई बजेटमा समेटिने बताए । दुर्गम तथा सीमान्तकृत समुदायका आवश्यकता र योजनालाई प्राथमिकतामा राखिने उनको भनाइ छ । उनले विगतमा देखिएका बेथितिको अन्त्य गरेर बजेटलाई आम नागरिकको अपनत्व हुने गरी निर्माण गरिने बताए ।

attariya hospital

शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, पर्यटनलगायत प्रदेशका महत्वपूर्ण क्षेत्रलाई समेटेर देखिने र महसुस गर्न सकिने परिवर्तन ल्याउने गरी बजेटको व्यवस्था गरिने उनले बताए । विगतका कमजोरी सच्याउँदै आवश्यकताका आधारमा बजेटमा प्राथमिकता निर्धारण गरिने उनले जानकारी दिए ।

यसैगरी, दैजी–जोगबुढा सडक प्रदेश सरकारको प्राथमिकतामा रहेको मुख्यमन्त्री भट्टले बताए । प्रदेशका महत्वपूर्ण तथा रणनीतिक योजनालाई प्राथमिकताका साथ अघि बढाउने उनको भनाइ छ । प्रदेश राजधानी निर्माणको कामसमेत यसै वर्षदेखि सुरु गर्ने उनले बताए । राजधानी निर्माणलाई भौतिक संरचना निर्माणमा मात्र सीमित नगरी सुदूरपश्चिमको मौलिकता र पहिचान स्थापित गर्ने अभियानका रूपमा अघि बढाउने मुख्यमन्त्री भट्टले बताए ।

navjiwan hospital

परिणाममुखी काम गर्ने प्रतिबद्धता

मुख्यमन्त्री भट्टले प्रदेश सरकारले परिणाममुखी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । डडेल्धुरा उद्योग वाणिज्य संघ सँगको छलफलका क्रममा उनले प्रदेश सरकारको कार्यकाल छोटो भएपनि परिणाममुखी काम हुने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

उनले प्रदेशलाई सुशासनको केन्द्रका रूपमा स्थापित गर्ने गरी प्रदेश सरकार अघि बढिरहेको बताए । उनले सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र जनमुखी बनाउन आवश्यक सुधार गरिने समेत उल्लेख गरे । उनले प्रदेशको आर्थिक तथा भौतिक विकासका लागि निजी क्षेत्रसँग सहकार्य आवश्यक रहेको बताउँदै उद्योगी–व्यवसायीका समस्या समाधान गर्न प्रदेश सरकार सकारात्मक रहेको धारणा राखे ।

छलफलमा उद्योग वाणिज्य संघका पदाधिकारीहरूले डडेल्धुराको सडक, पूर्वाधार, उद्योग–व्यवसाय, पर्यटन तथा आर्थिक विकाससँग सम्बन्धित विभिन्न विषयमा मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

मुख्यमन्त्री भट्टले उद्योग वाणिज्य संघले उठाएका विकास निर्माण, उद्योग व्यवसाय तथा जिल्लाको समग्र विकाससँग सम्बन्धित विषयहरू महत्वपूर्ण रहेको भन्दै ती सबै विषयलाई गम्भीरताका साथ लिने बताए ।