खाेज्नुहाेस

आज गौरा पर्वको पहिलो दिन, बिरुडा पञ्चमी

Image

डडेल्धुरा – सुदूरपश्चिमको मौलिकता बोकेको सांस्कृतिक गौरा पर्व मंगलबारदेखि सुरु भएको छ। गौरा पर्वको पहिलो दिन घरघरमा बिरुडा भिजाउने गरिन्छ। यस दिनलाई बिरुडा पञ्चमी पनि भनिन्छ।

सुदूरपश्चिमका विभिन्न जिल्लामा व्रतालु महिलाले बिरुडा भिजाएका छन्। बिरुडामा मास, केराउ, गहत, गहुँ र गुरुस गरी पाँच प्रकारका गेडागुडी मिसाउने परम्परा छ। बिरुडा भिजाएर गौरादेवीलाई चढाउने र त्यसलाई प्रसादका रूपमा प्रयोग गर्ने चलन छ।

attariya hospital

गौरा पर्वको अवसरमा रोजगारी तथा विभिन्न कामका लागि परदेशिएका सुदूरपश्चिमेलीहरू घर फर्किने क्रम पनि बढेको छ। पहाडी जिल्लाबाट रोजगारी, अध्ययन तथा अन्य कामका लागि तराई झरेकाहरू समेत पूजापाठ र गौरा मनाउन आफ्नो थातथलो फर्किने गरेका छन्।

navjiwan hospital

गौरा पर्व शुक्लपक्ष र कृष्णपक्ष दुवैमा पर्ने गरेको संस्कृतिका जानकार मुरलीधर अवस्थीले बताए। यस वर्ष भने गौरा कृष्णपक्षमा परेको उनले बताए। उनका अनुसार पक्षअनुसार गौराको समय फरक पर्ने भए पनि पर्वसँग जोडिएका धार्मिक तथा सांस्कृतिक परम्पराहरू भने निरन्तर रहँदै आएका छन्। गौरा कहिले शुक्लपक्षमा र कहिले कृष्णपक्षमा पर्ने उनले बताए।

अवस्थीका अनुसार बिरुडा भिजाउने दिनदेखि नै गौरा पर्वका विभिन्न विधि सुरु हुन्छन्। बिरुडा भिजाउने क्रममा स्थानीय भाषाका सगुन तथा फाग गाउने परम्परा पनि छ।

सप्तमी र अष्टमीलाई गौराका मुख्य दिन मानिन्छ। सप्तमीका दिन धानसँगै उम्रिएको साउँबाट गौराको प्रतिमा बनाई गौराघरमा भित्र्याउने र अष्टमीका दिन पूजा, मंगलगान तथा गौरासम्बन्धी सांस्कृतिक गतिविधि गर्ने परम्परा छ।

गौराका अवसरमा देउडा, फाग, अठवाली, धमारीलगायतका मौलिक सांस्कृतिक गतिविधि पनि गरिन्छन्।