खाेज्नुहाेस

सुदूरपश्चिममा १ हजार ६ सय बढी लैङ्गिक हिंसाका मुद्दा दर्ता

Image

अत्तरिया– सुदूरपश्चिम प्रदेशमा एक आर्थिक वर्षमा लैङ्गिक हिंसाका १ हजार ६ सय बढी मुद्दा दर्ता भएका छन् । प्रदेशमा आर्थिक वर्ष २०८०/०८१ मा लैङ्गिक हिंसाका १ हजार ६१४ मुद्दा दर्ता भएका हुन ।
नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालय नक्सालको तथ्याङ्क अनुसार देशभर लैङ्गिक हिंसा सम्बन्धी २० हजार ९५४ मुद्दाहरु दर्ता भएका छन् । जसमध्ये सुदूरपश्चिमबाट मात्रै ७.७० प्रतिशत मुद्दाहरु दर्ता भएका हुन ।

navjiwan hospital

प्रहरी कार्यालयको तथ्याङ्क अनुसार उक्त आर्थिक वर्षमा सुदूरपश्चिममा सबैभन्दा बढी घरेलु हिंसा सम्बन्धी शीर्षकमा मुद्दा दर्ता भएका छन् । सो शीर्षकमा सुदूरपश्चिमबाट १ हजार २१४ मुद्दा दर्ता भएको प्रहरीको तथ्याङ्कले देखाएको छ । प्रहरीको तथ्याङ्क अनुसार प्रदेशमा जबरजस्ती करणीका २०२, जबरजस्ती करणी उद्योगका ५३, बाल यौन दुर्व्यवहारका १८, अपहरण शरीर बन्धक गरी जबरजस्ती करणीका ७, मानव बेचबिखन गरी जबरजस्ती करणीका ३ र सार्वजनिक स्थलमा हुने अभद्र व्यवहार सम्बन्धीका ६ वटा मुद्दा दर्ता भएका छन् ।

attariya hospital

यस्तै गरी प्रदेशमा जबरजस्ती करणी गरी कर्तव्य ज्यान शीर्षकमा एउटा मुद्दा दर्ता भएको छ भने बहुविवाहमा ८० र बालविवाहमा ७ वटा मुद्दा दर्ता भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । यस्तै तेजाब प्रहार शीर्षकमा एउटा, घरेलु हिंसाका कारण कर्तव्य ज्यानमा ६ वटा, अवैध गर्भपतनमा ५ वटा, जातीय छुवाछुतमा एउटा र मानव बेचबिखन  तथा ओसारपसार शीर्षकमा १० वटा मुद्दाहरु दर्ता भएको प्रहरीको तथ्याङ्कले देखाएको छ ।

प्रहरी कार्यालयको तथ्याङ्क अनुसार सबैभन्दा बढी मधेस प्रदेशमा तथा सबैभन्दा कम गण्डकी प्रदेशमा लैङ्गिक हिंसाका घटनाहरू दर्ता भएका छन् । मधेस प्रदेशमा कुल सङ्ख्याको २९.७८ प्रतिशत अर्थात् ६ हजार २४० मुद्दाहरु दर्ता भएका छन् । गण्डकी प्रदेशमा भने कुल सङ्ख्याको ३.८९ प्रतिशत अर्थात् ८१५ मुद्दाहरु दर्ता भएका छन् । प्रहरी कार्यालयका अनुसार कोसीमा २ हजार ५८०, बाग्मतीमा १ हजार ८१५, लुम्बिनीमा ३ हजार ५६७, कर्णाली प्रदेशमा १ हजार २२३ र काठमाण्डौं उपत्यकामा ३ हजार ३३ मुद्दाहरु दर्ता भएका छन् । त्यति मात्रै नभई मानव बेचबिखन अनुसन्धान ब्युरोमा पनि थप ६७ मुद्दाहरु दर्ता भएको कार्यालयले जनाएको छ ।