अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – २ को समता स्कुल गल्लीमा नाली निर्माण गर्ने विषय विवादमा आएको छ । गोदावरी नगरपालिकाले समता स्कुल हुदै प्लानेट भिटी चोक सम्म नाली निर्माण गर्न बजेट विनियोजन गरेको थियो । तर, उक्त नाली निर्माणको विषय अहिले विवादीत बनेको हो । उक्त नाली निर्माणमा उपभोक्ता समिति गठन देखि पानी निकासको स्थान लगायतका विषयमा विवाद सृजना भएको छ ।
स्थानीयहरुले एउटा व्यक्तिले भनसुनको आधारमा बजेट ल्याएर नाली निर्माण गरिरहेको तथा स्थानीयबासीहरुलाई भने जानकारी नै नभएको आरोप लगाएका छन । स्थानीय आकाश साउँदले भनसुनको आधारमा बजेट ल्याएर स्थानीयहरुलाई जानकारी नै नदिई केही महिलाहरुलाई भ्रममा पारेर समिति गठन गरिएको बताए । उनले केही महिलाहरुलाई भ्रममा पारेर समिति गठन गरी स्थानीयहरुको जानकारी बिनै नाली बनाउने काम गरिएको बताए ।


‘उपभोक्ता समिति गठनको लागि त सूचना टास्ने, सूचना अनुसार उपभोक्ता समिति गठन गर्नुपर्ने होला, स्थानीयहरु भेला भएर समिति बनाउने होला नी’ उनले भने ‘केही जानकारी नै नभएका २÷३ जना स्थानीय महिलाहरुलाई भ्रममा पारेर समिति बनाईएको छ ।’ उनले उपभोक्ता समितिका अध्यक्षले स्थानीयहरुलाई सबैकुरामा भ्रममा पार्ने काम मात्रै गरेको बताए । ‘नाली दोहोरो खन्ने भनेर भनियो, तर नाली एकोहोरो खनियो’ उनले भने ‘उपभोक्ता समिति उपभोक्ताले बनाउने हो, तर सरोकारवाला नै नराखी समिति गठन गर्नुभयो, अहिले बजेट छैन भनेर एकोहोरो नाली मात्रै बनाउन खोज्नुभयो ।’ उनले नाली पनि ढक्कन विनाको हुने भन्ने आफुले सुनेको बताए । उनले त्यसो हुँदा यहाँ सुरक्षाको चुनौती हुने पनि बताए ।
अर्का स्थानीय गोकर्ण ओझाले आफुहरुले विकासको विरोध नभई प्रकृयाको विरोध गरेको बताए । उनले स्थानीयलाई झुक्याएर एकातिर मिलाउने भनेको नाली अर्कातिर मिलाउन खोजेपछि मात्रै आफुहरुले विरोध गरेको बताए । ‘सुरुवातमा अर्काेतिर नाली मिलाउने भनेर भने, दुई तिर नाली बनाउने पनि भने’ उनले भने ‘तर पछि काम गर्दाखेरी पुरानै नालीमा नयाँ नाली मिसाउन खोजेपछि हामीहरुले विरोध गरेका हौ ।’ उनले पुरानो ह्युमपाईप हालेको नालीले सबै तिरको पानी धान्न सक्ने अवस्था नरहेको बताए । ‘त्यो पुरानो नाली हो, यहाँ ८/१० घर हुँदा खेरी त्यतिका लागि मात्रै बनाईएको हो, अहिले त्यसै गल्लीमा ५०/६० घरहरु भैसके, सबैको पानी त्यतै गईरहेको छ’ उनले भने ‘अब त्यसको क्षमता छैन, वर्षायाममा अझै पनि यता डुबान हुन्छ, अर्काे गल्लीको पानी पनि त्यो नालामा हाल्दा त्यसले धान्न सक्दैन भन्ने भनाई हाम्रो हो ।’



यता उपभोक्ता समितिकी अध्यक्ष धना चोखालले आफुले सबैलाई जानकारी गराएर नै समिति गठन गरेको बताएकी छन । उनले नाली निर्माण गर्ने क्षेत्रका वरपर बस्ने स्थानीयहरुलाई भेला गराएर नै समिति गठन गरिएको बताइन् । ‘रातारात समिति गठन भयो भन्ने कुरा गलत हो’ उनले भनिन् ‘सबैलाई जानकारी गराएर नै हामीले समिति गठन गरेका छौ, गठन गर्दा विवाद भएको भए नाली खन्न चाँही किन दिएका हुन त ?’
उनले समता स्कुलबाट आएको नालाको पानी त्यो क्षेत्रमा रहेका दुवै नालाहरुमा मिलाउने गरी ईन्जिनियरले भने अनुसार काम गरेकोमा आफुलाई आरोप लगाउने काम भएको बताइन् । उनले आफुले विकास गर्न चाहेको भएपनि विभिन्न आरोपहरु लगाएर आफुलाई विवादीत बनाउने काम भैरहेको बताइन् ।
‘मैले त विकास गर्नुपर्छ भनेर लागिको छु, वर्षायाममा पानीको समस्या हुन्छ भन्ने हिसाबले नाली निर्माणको लागि बजेट आउँदा पनि विरोध भैरहेको छ’ उनले भनीन् ‘उपभोक्ता समिति बनाउने समयमा भेला गर्दा नआएकाहरुले थाहा नपाएर बोलिरहेका हुन, सबैलाई समेटेर मैले यो काम गर्न थालेकी हुन, प्राविधिक कुराका लागि इन्जिनियर सहित ल्याए, अझै विरोध हुन्छ ।’ उनले ढक्कन बिनाको नाली निर्माण हुने भनेर समेत आफुलाई आरोप लगाईएको तर नगरपालिकाबाट आएको बजेटले १३७ मिटर ढक्कन सहितको नाली निर्माण हुने बताइन् । उनले आफ्नो कारणले विरोध भैरहेको भए आफु समितिको अध्यक्षबाट राजीनामा दिन तयार रहेको बताइन् ।
नगरपालिकाले असार १५ भित्र सम्पन्न गरिसक्ने गरी उक्त क्षेत्रको नाली निर्माणका लागि ७ लाखको हाराहारीमा बजेट विनियोजन गरेको थियो । शुक्रबार नाली विवादकै कारण स्थानीयहरु नगरपालिका गएका थिए । उनीहरुले नाली विवादको समाधान गरी ढल निकास र आवागमनमा सहजता ल्याउन आवश्यक बाटोको व्यवस्था मिलाईदिन भन्दै नगरपालिकालाई ज्ञापन पत्र बुझाएका थिए ।
ज्ञापन पत्र बुझ्दै नगरपालिकाले प्राविधिक खटाई स्थलगत अनुगमन गरेर प्रतिवेदन पेश गर्न पुर्वाधार शाखालाई भनेको छ । नाली खन्न नदिने भएपछि उक्त योजना नै संसोधन भएको बताईएको छ । हाल उक्त योजना संसोधन गरी अर्काे स्थानमा काम हुने बताइएको भएपनि आर्थिक वर्ष सकिनै लागेकाले योजना कार्यान्वयन हुनेमा आशंका उत्पन्न भएको छ ।















