खाेज्नुहाेस

गोदावरीका ११२ शिक्षकलाई नगर शिक्षकको नियुक्ति दिइँदै

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका भित्र कार्यरत ११२ शिक्षकहरूलाई नगर शिक्षकको नियुक्ति दिइने भएको छ । नगर शिक्षकको रूपमा अनुदान प्राप्त शिक्षकलाई झन्डै ३ वर्ष पछि नगर शिक्षकको नियुक्ति दिन लागिएको छ । गोदावरी नगरपालिकाले २०७८ फागुनमा विद्यालय व्यवस्थापन समितिले नियुक्त गरेका १४३ जना शिक्षकहरूलाई नगर शिक्षकमा रूपान्तरण गरेको थियो । तर, नगर शिक्षकमा रूपान्तरण भएका शिक्षकले नियुक्ति पत्र भने पाएका थिएनन् । जसका कारण शिक्षकहरूले विगत लामो समय देखि नियुक्ति पत्र सँगै सेवा सुविधामा समानता ल्याउन माग गर्दै विरोधका कार्यक्रम गर्दै आएका थिए ।

हाल गोदावरी नगरपालिकाले आन्तरिक परीक्षा सञ्चालन गरेर नगर शिक्षकको नियुक्ति दिन लागेको हो । नगरपालिकाले आन्तरिक परीक्षाका लागि वैशाख ५ गते सूचना प्रकाशन गरेको थियो । जसमा ११९ जनाले आवेदन दिएकामा ११२ जना परीक्षामा सहभागी हुन पाएका थिए । परीक्षामा सहभागी भएका सबै उत्तीर्ण भएको नगरपालिकाको शिक्षा शाखा प्रमुख प्रयाग राज जोशीले बताए । उनले उत्तीर्ण भएका सबै शिक्षकलाई नगरपालिकाको सिफारिसमा सम्बन्धित विद्यालयबाट नियुक्ति पत्र दिइने बताए ।

attariya hospital
navjiwan hospital

नगरपालिकाले सञ्चालन गरेको आन्तरिक परीक्षामा मावि तहमा २५, निमावि तहमा ४२ र प्रावि तहमा ४५ शिक्षक सहभागी भएका थिए । २०७८ सालमा १४३ नगर शिक्षक भए पनि केही शिक्षक शिक्षा सेवा पास गरेर, केही अन्य कारणले अवकाश लिइसकेका छन् ।

तत्कालीन मेयर हरि सिंह साउँदको पालामा विद्यालय व्यवस्थापन समितिले नियुक्त गरेका शिक्षकलाई स्वतः नगर शिक्षकमा रूपान्तरण गरिएको थियो । हाल आएर नगर शिक्षकको नियुक्ति दिन प्रक्रिया नपुगेको भन्दै नगरपालिकाले शिक्षक व्यवस्थापन सम्बन्धी कार्यविधि २०७८ संशोधन गरेर परीक्षा सञ्चालन गरेको जनाइएको छ । कार्यविधि अनुसार नगरपालिकाले नगर शिक्षक परीक्षा व्यवस्थापन समिति गठन गरेको थियो । नगर शिक्षकलाई नियुक्त गर्न लिखित सँगै अन्तरवार्ता र कक्षा अवलोकन गरिएको जनाइएको छ । यद्यपि नजिता भने नगरपालिकाले एकै पटक प्रकाशन गरेको थियो ।

नगरपालिकाले अनुदान प्राप्त नगर शिक्षकलाई नियुक्ति पत्र दिन प्रक्रिया पु¥याएको भए पनि शिक्षकहरूले उठाउँदै आएको पारिश्रमिकको मुद्दाको विषयमा भने कुनै निर्णय नदिइएको शिक्षा शाखा प्रमुख जोशीले बताए । हाल नगर शिक्षकले अनुदानका रूपमा प्राविमा २० हजार, निमाविमा २२ हजार र माविमा २५ हजार पारिश्रमिक नगरपालिकाबाट पाउँदै आएका छन् ।

नगर शिक्षक संघका अध्यक्ष तपराज ओझाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नै हालै सम्पूर्ण शिक्षकलाई नेपाल सरकारले तोके बमोजिम सेवा सुविधा दिन परिपत्र गरिसकिएकाले सोही अनुसार हुनेमा आफूहरू आशावादी रहेको बताए । उनले नगरपालिकाले शिक्षा मन्त्रालयको परिपत्र अनुसार नेपाल सरकारले तोके अनुसारको सेवा सुविधा उपलब्ध गराउनु पर्ने बताए ।