अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – २ मा रहेको सुप समावेशी आधारभुत विद्यालयलाई आर्थिक सहयोग गरिएको छ । आफ्नो ५५औ जन्मदिनको अवसरमा नगरपालिकाकै वडा नं. ४ बास्कोटाका चेतराज जोशीले विद्यालयलाई ५७ हजार रुपैया आर्थिक सहयोग गरेका हुन ।
विद्यालयमा अध्ययनरत अपांगता भएका बालबालिकाहरुका लागि आफुले आर्थिक सहयोग गरेको जोशीले बताए । उनले अपांगता भएका बालबालिकाहरुको शिक्षा, स्वास्थ्य लगायतका अति आवश्यक कुराहरुमा उक्त रकमले केही सहयोग पुग्ने विश्वास लिएको बताए । ‘जन्मदिनमा फजुल खर्च गर्नुभन्दा अति आवश्यता भएका व्यक्तिहरुलाई सहयोग गरे मनमा सन्तुष्टि मिल्छ’ उनले भने ‘मैले आफ्नो जन्मदिन मात्रै नभई अन्य विभिन्न अवसरहरुमा पनि यो विद्यालयलाई सहयोग गर्दै आईरहेको छु र गरिरहने छु ।’ उनले आफ्नो क्षमताले भ्याएसम्म सहयोग गर्दै आएको र आगामी दिनहरुमा सहयोग रकम बढाउदै लैजाने बताए ।


विद्यालयका संस्थापक अध्यक्ष मान बहादुर साउँदले जन्मदिनको अवसरमा विद्यालयलाई गरिएको सहयोग अतुलनिय रहेको बताए । निजामती कर्मचार समेत रहेका जोशीले धन भएर नभएर मन भएर सहयोग गरेको भन्दै साउँदले उक्त रकम अक्षयकोषमा राखिने बताए । ‘उहाँले यसअघि पनि विद्यालयलाई ५१ हजार रुपैया सहयोग गर्नुभएको थियो, उक्त रकम हामीले अक्षयकोष स्थापना गरेर राखेका छौ’ उनले भने ‘यो रकम पनि हामीले अक्षयकोषमै राख्नेछौ, जसको ब्याज रकमले विद्यालयमा रहेका विद्यार्थीहरुका आवश्यकता परिपुर्ति गर्नमा मद्दत मिल्नेछ ।’ उनले अन्य मानिसहरुलाई पनि सिकाईको रुपमा उहाँको सहयोग रहेको बताए ।
गोदावरी नगरपालिका वडा नं. २ का वडासदस्य डबल बहादुर साउँदले निःस्वार्थ भावना र परोपकारको भावनाले विद्यालय स्थापना गरिएको हुनाले नै सहयोगीहरु ले यो विद्यालयलाई रोज्ने गरेको बताए । धन भएर पनि सहयोग गर्न नचाहने मानव समुदायको बिचमा विद्यालयलाई निरन्तर सहयोग गर्दै आएको भन्दै उनले जोशीप्रति कृतज्ञता ज्ञापन गरे । ‘मेरो थोरै सहयोगले पनि अपांगता भएका बालबालिकाहरुको भविष्य समृद्ध बन्न सक्छ भन्ने तपाईको सोच महान छ’ उनले जोशीलाई लक्षित गर्दै भने ‘तपाईहरु जस्ताकै कारणले गर्दा विद्यालय सञ्चालन भएको छ, विद्यालय यहाँसम्म पुगेको छ ।’
प्रदेश लेखा ईकाइ कार्यालय डडेल्धुरामा कार्यरत जोशीले यसअघि पनि उक्त विद्यालयलाई ५१ हजार रुपैया आर्थिक सहयोग गरेका थिए । उनले विद्यालयस्थापना कालदेखी नै विभिन्न क्षेत्रमार्फत सहयोग गर्दै आईरहेका छन । विद्यालयलाई फर्निचर दिने, सहयोगी संघसंस्थाहरुसँग समन्वय गरेर विद्यालयमा अन्य आवश्यक कुराहरुका लागि पहल थाल्ने लगायतका कार्यहरु जोशीले गर्दै आईरहेका छन ।
