अत्तरिया – कञ्चनपुरको कृष्णपुर नगरपालिका – ७ शान्तिपुरमा रहेको कञ्चन माविको ३ कोठे पक्की भवनको शिलान्यास गरिएको छ । सोमबार एक कार्यक्रमका बिच कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझा र उपप्रमुख द्रोपती रानाले विद्यालय भवनको शिलान्यास गरेका हुन ।
कृष्णपुर नगरपालिका र विल्ड अन नेपालको लागत साझेदारीमा उक्त भवन निर्माण गर्न लागिएको विद्यालयका प्रधानाध्यापक कर्मराज चौधरीले बताएका छन् । उनले ३ कोठे विद्यालय भवन सँगै २ कोठे पक्की शौचालय पनि निर्माण गरिने बताए ।
भवन निर्माणको लागि सोमबार नै नगरपालिका कार्यालय, बिल्ड अन नेपाल र विद्यालय बिच त्रिपक्षीय सम्झौता समेत गरिएको थियो ।
विद्यालयका अध्यक्ष हरि बहादुर गैरालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नगरप्रमुख ओझा, उपप्रमुख राना सँगै वडा नम्बर ७ का अध्यक्ष घुम्मन राना, विल्ड अन नेपालका बोर्ड सदस्य राम दास चौधरी लगायतको सहभागिता रहेको थियो । उद्घाटन कार्यक्रमको सञ्चालन विद्यालयमा मावि इन्चार्ज छविराज पाण्डेले गरेका थिए ।