अत्तरिया– बर्दियाको भुरियाउँमा रहेको ज्येष्ठ नागरिक चौतारीका आमाहरुलाई फलफुल वितरण गरिएको छ । जिल्लाको ठाकुरबाबा नगरपालिकामा अवस्थित लघुबित्त कर्मचारिको संस्था भुरिगाउ लघुबित्त मिलन केन्द्रले ज्येष्ठ नागरिक चौतारीमा रहेका आमाहरुलाई फलफुल वितरण गरेको हो ।
बुधबार परेको आमाको मुख हेर्ने दिनको अवसरमा केन्द्रमार्फत आमाहरुलाई फलफुल वितरण गरिएको केन्द्रका अध्यक्ष खेमराज ओझाले जानकारी दिए । उनले आमाको मुख हेर्ने दिनको अवसरमा मात्रै देखावटी रुपमा आमाको सेवा गर्ने नभई सदैव आमाहरुलाई माया गर्नुपर्ने बताए ।



उनले आमा शब्द ले नै ममता झल्काउने भएकाले आमाहरुलाई वृद्धाश्रममा राखेर आमाको ममताको तिरस्कार गर्न नहुने पनि बताए । कार्यक्रममा केन्द्रका उपाध्यक्ष सुक बहादुर थारु, सचिब जनक बहादुर शाही, कोषाध्यक्ष कुसुम चौधरी लगायतका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
ज्येष्ठ नागरिक चौतारीका अध्यक्ष मयाराम खनालले केन्द्रले चौतारीमा रहेका आमाहरुलाई गरेको सम्मान स्वरुप केन्द्रका अध्यक्ष ओझालाई प्रसंशा पत्र प्रदान गरेका थिए ।
