कैलालीका साढे चार सय अभिभावकलाई रूपान्तरण कक्षा

अत्तरिया – कैलालीका साढे चार सय अभिभावकलाई रूपान्तरण कक्षा दिन लागिएको छ । जिल्लामा बालविवाह रोक्नका लागि अभिभावकलाई सजक बनाउन रूपान्तरण कक्षा दिन लागिएको हो । जस अन्तरगत गोदावरी नगरपालिका, चुरे गाउँपालिका र मोहन्याल गाउँपालिकाका १८ वडाका अभिभावकलाई समेटिएको छ । रूपान्तरण कक्षामा बालविवाह सँगै किशोर अवस्थामा देखिने परिवर्तनमा अभिभावकको भूमिका, हिंसा र प्रजनन स्वास्थ्यका विषयमा सचेत गराउन लागिएको सुदूरपश्चिममा बालविवाह निवारण परियोजनाकी मिल अफिसर टिकेश्वरी पाण्डेले बताइन् । उनले युनिसेफको साझेदारीमा निड्सले सञ्चालन गरेको परियोजना अन्तरगत कार्यक्रम सञ्चालन गरिएको बताइन् ।

maya metro hospital

परियोजना अन्तरगत विगत ६ महिना देखि कैलालीका गोदावरी, चुरे र मोहन्यालका १८ वडामा किशोरीहरूलाई रूपान्तरण कक्षा दिइँदै आएको छ । ८ महिना सम्म सञ्चालन हुने उक्त कक्षामा किशोरीहरूलाई बालविवाह सँगै प्रजनन स्वास्थ्य, महिला हिंसा, किशोर अवस्थामा आउने परिवर्तन लगायतका १५ विषयमा जानकारी दिइँदै आएको छ ।

सोही कार्यक्रम अन्तरगत रूपान्तरण कक्षामा सहभागी किशोरीहरूका अभिभावकलाई पनि सजक गराउन २ दिने अभिभावक रूपान्तरण कक्षा सञ्चालन गर्न लागिएको मिल अफिसर पाण्डेले बताइन् । ‘रूपान्तरण कक्षामा किशोरीहरूले जुन कुरा सिक्नुहुन्छ त्यो विषयमा अभिभावकलाई जानकारी नहुन सक्छ’ उनले भनिन् ‘बालविवाह निवारणका लागि किशोरीहरूलाई त हामीले जोडेका छौ । सँगसँगै यसमा अभिभावकलाई पनि जोड्न खोजेका हौ ।’ उनले अभिभावकको बुझाई र सोचाइमा पनि परिवर्तन ल्याउन सके बालविवाह रोक्न सहज हुने बताइन् ।

attariya hospital

परियोजनाकी सामाजिक परिचारिका लक्ष्मी विकले रूपान्तरण कक्षामा बालविवाह गर्दा हुन सक्ने असरका विषयमा बालबालिका र अभिभावकलाई जानकारी दिने गरिएको बताइन ।

रूपान्तरण कक्षामा बालविवाह गर्दा किशोरीको शारीरिक, मानसिक, यौन स्वास्थ्यमा पर्ने असर, बाल अधिकारका कुरा, सामाजिक सामावेशिकरण कुरा, दिगो जीविकोपार्जन, बचतका कुराहरूका बारेमा जानकारी दिने गरिएको बताइन् ।
रूपान्तरण कक्षा अन्तरगत कैलालीका १० वडामा अभिभावकलाई सहभागी गराइसकिएको र ६ वडामा कार्यक्रम गर्न बाँकी रहेको उनले बताइन् ।

वडा नम्बर ६ मा सञ्चालित रूपान्तरण कक्षामा सहभागी हेमन्ती कठायतले रूपान्तरण कक्षामा सहभागी भएपछि बालबालिकामा धेरै परिवर्तन आएको बताइन् । ‘मेरी छोरीले यो कक्षा लिन थालेपछि बालविवाहका विषयमा घरमा पनि कुरा गर्ने गरेकी छिन’ उनले भनिन ‘उनी अधिकारका विषयमा पनि सजक भएकी छिन । हामीले पढ्नुपर्छ । चाहेअनुसारको काम गर्नुपर्छ भन्न थालेकी छिन ।’उनले रूपान्तरण कक्षा पाएपछि आफूले पनि बाल अधिकारका विषयमा जानकारी पाएको बताइन् ।

उनले बालबालिकालाई कस्तो बनाउने भन्ने वातावरण अभिभावको हातमा हुने भएकाले त्यसका लागि अभिभावक सजक हुनुपर्ने बताइन् । रूपान्तरण कक्षामा १० देखि १९ वर्ष उमेर समूहका बालबालिकालाई समेटिँदै आएको छ ।
सन २०३० सम्ममा नेपालबाट बालविवाह निवारण गर्ने लक्ष्य अनुसार हाल बालविवाह निवारण परियोजना अन्तरगत सुदूरपश्चिमका चार जिल्लाका रूपान्तरण कक्षा सञ्चालन भइरहेका छन् ।

जसअन्तर्गत बझाङ, अछाम, कैलाली र कञ्चनपुर गरी १० पालिकाका ६० वडामा रूपान्तरण कक्षा सञ्चालन गर्नका लागि ६० जना सहजकर्ता परिचालन गरिएका छन् । प्रत्येक कक्षामा २५ देखि ३० बालबालिकालाई सहभागी गराइँदै आएको निड्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.