कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पालिका स्तरीय कक्षा ८ को परीक्षामा ३४ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् । नगरपालिकाले आइतबार प्रकाशन गरेको परीक्षामा सामुदायिक र संस्थागत गरी ३६ विद्यालयका १ हजार १ सय ६५ विद्यार्थी सहभागी भएकोमा ३४ प्रतिशत अर्थात् ३९७ विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् ।
प्रकाशित परीक्षाफलमा तीन विद्यालयको नतिजा शून्य आएको छ । पालिकाको वडा नम्बर ४ असैना स्थित कालिका माध्यमिक विद्यालय, वडा नम्बर २ लक्ष्मीपुर स्थित बैजनाथ आधारभूत विद्यालय र वडा नम्बर ११ स्थित दीपनगर आधारभूत विद्यालयको नतिजा शून्य आएको हो ।
शिक्षा समिति सदस्य विष्णुदत्त जोशीले आधारभूत तह कक्षा ८ को नतिजा निराशाजनक आएको बताए । उनले नतिजाको समीक्षा गरेर आगामी शैक्षिक सत्र देखि शैक्षिक सुधारका कार्यक्रम सञ्चालन गरिनुपर्ने बताए । नगरपालिकाले गत चैत्र २ गतेदेखि १० गतेसम्म परीक्षा सञ्चालन गरेको थियो ।