सुदूरपश्चिममा पाठ्यपुस्तक वितरण सुरु

धनगढी – जनक शिक्षा सामग्री केन्द्रले शैक्षिक सामग्री बिक्री वितरण सुरु गरेको छ । सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढीले मंगलबारदेखि सुदूरपश्चिमका नौ वटै जिल्लाहरूमा पाठ्य सामग्री बिक्री वितरण सुरु गरेको हो ।

maya metro hospital

जनक शिक्षा सामाग्री केन्द सुदूरपश्चिम प्रदेश कार्यालयले बाजुराका व्यवसायीलाई पाठ्यपुस्तक बिक्री वितरण गरेर नयाँ शैक्षिक सत्र २०८१ को पाठ्यपुस्तक वितरण सुरु गरेको थियो ।

बाजुराका व्यापारीले बुधबार पनि जनक शिक्षा सामाग्री केन्द्रबाट पुस्तक लिन सक्नेछन । त्यस्तै चैत्र १५ र १६ गते दार्चला ,१७ गते बझाङ्ग, १८ गते बैतडी, १९ गते अछाम, २० गते डोटी, २१ गते डडेल्धुरा २२, २३ र २४ गते कञ्चनपुर र चैत्र २५, २६ र २७ गते कैलालीका व्यवसायीले जनक शिक्षा सामाग्री केन्द्र सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीबाट पाठ्यपुस्तक लिन पाउने कार्यालय प्रमुख राम बहादुर कुँवरले बताए ।

attariya hospital

उनले शैक्षिक सत्र २०८१ मा जिल्लागत रूपमा कक्षा १ देखि १२ सम्मको गरी जम्मा १९ लाख १५ हजार १८५ थान पाठ्य पुस्तक बिक्री गर्ने लक्ष्य राखिएको बताए । जुन चालू शैक्षिक सत्र २०८० को भन्दा पौने दुई लाखले बढी रहेको कार्यालय प्रमुख कुँवरले जानकारी दिए । चालु शैक्षिक सत्रमा जनक शिक्षाले सुदूरपश्चिममा १७ लाख ४१ हजार पाठ्य पुस्तक वितरण गरेको हो । जनक शिक्षाले समयमै विद्यार्थीहरूको हातमा पुस्तक पुग्ने बताएको छ ।

यसअघि नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेश कमिटि र नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ कैलालीका पदाधिकारीहरुको उपस्थितिमा जनक शिक्षा सामाग्री केन्द्र सुदूरपश्चिम प्रदेश कार्यालयमा पुस्तक वितरणलाई कसरी सहज बनाउन सकिन्छ भनेर छलफल भएको थियो । छलफलमा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेश कमिटि अध्यक्ष श्याम पाठक, सचिव निलम राज जोशी, सह–सचिव डिल्लीराज ओझा कैलालीका वरिष्ठ उपाध्यक्ष नर बहादुर नेगी, सचिव निम मिश्र जनक शिक्षा सामाग्री केन्द्र सुदूरपश्चिम प्रदेश कार्यालय प्रमुख र कुँवर लगायतको उपस्थिति रहेको थियो ।

पुस्तक वितरणमा अघिल्ला वर्षहरुमा देखा परेको समस्यालाई दोहोरिन नदिन व्यापक छलफल भएको नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेश कमिटि अध्यक्ष श्याम पाठकले बताए । अध्यक्ष पाठकले कैलाली, कञ्चनपुर र पहाडका ७ जिल्लाका व्यापारी साथीहरुलाई जनक शिक्षा सामाग्री केन्दसँग समन्वय गरेर पुस्तक वितरणमा सहजीकरण गरिरहेको बताए ।

छलफलमा जनक शिक्षा सामाग्री केन्द सुदूरपश्चिम प्रदेश कार्यालय प्रमुख कुँवरले आफूपनि सुदूरपश्चिमेली भएको हुँदा यहाँको भुगोल र व्यापारी साथीहरुको अवस्था बुझेको भन्दै रातदिन खटेर पनि पाठ्यपुस्तक वितरणलाई सजिलो बनाउने बताए । उनले नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेश कमिटी र जिल्ला अध्यक्षहरुसँग पनि निरन्तर छलफलमा रहेको भन्दै यसपटक विद्यार्थीहरुले समयमै पाठ्यपुस्तक पाउने बताए ।

कार्यालय प्रमुख कुँवरले गोदाम सानो भएकोले चाहिने जति पाठ्यपुस्तक जम्मा गर्न नसकेपनि ७० प्रतिशत पाठ्यपुस्तक आइपुगेको बताए । उनले पहिलो चरणमा पाठ्यपुस्तक बजारमा जाने बित्तिकै दोश्रो चरणमा तुरुन्तै पाठ्यपुस्तक धनगढी आइपुग्ने बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.