अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाका शिक्षक ३ वर्षदेखि आन्दोलित भए पनि नगरपालिका बेपरवाह बनेको छ । विभेदको सिकार बनेका शिक्षकहरूले ३ वर्षदेखि आवाज उठाउँदै आएको भए पनि शिक्षा जस्तो गम्भीर विषयमा नगरपालिका बेपरवाह बनिरहेको हो । गोदावरी नगरपालिकाले २०७८ फागुनमा १४३ जनालाई नगर शिक्षकमा नियुक्त गरेको थियो । तर, ती शिक्षक पारिश्रमिक देखि लिएर अन्य सुविधामा पनि विभेदको सिकार बनेका छन् । शिक्षकहरूले आफूमाथि विभेद नगर्न पटक–पटक आवाज उठाउँदै आएका भए पनि अझै नगरपालिले त्यसतर्फ ध्यान दिएको छैन ।
अहिले पनि नगर शिक्षकले प्राविमा २० हजार, निमाविमा २२ हजार र माविमा २५ तलबमा काम गर्न बाध्य छन् । जबकि उनीहरू सँगै एउटै विद्यालयमा काम गर्ने दरबन्दीका शिक्षकले दोब्बर बढी सम्म तलब पाउने गरेका छन् । अहिले उल्टै ३ वर्षदेखि न्यून पारिश्रमिकमा काम गरिरहेका नगर शिक्षकलाई पुनः परीक्षामा सहभागी गराएर हटाउने चलखेल भइरहेको छ । आफ्ना मान्छे नगर शिक्षकमा नियुक्त गर्न यस्तो चलखेल भइरहेको शिक्षकहरूको दाबी छ । तत्कालीन मेयर हरि सिंह साउँदको पालामा नियुक्त भएका नगर शिक्षकलाई हटाएर आफू अनुकूल शिक्षक राख्न चलखेल भइरहेको शिक्षकहरूको भनाइ छ ।
नगर शिक्षकहरूले भने ३ वर्षदेखि कार्यरत शिक्षकलाई हटाउने बहानामा गरिने कुनै परीक्षामा सहभागी नहुने जनाएका छन् । नगर शिक्षक समितिका सहसचिव कृष्णबहादुर विकले नगर शिक्षकले अब कुनै पनि परीक्षामा सहभागी नहुने निर्णय गरेको बताए । ‘नगर शिक्षकका रूपमा ३ वर्षदेखि नगरबाट तलब खाइरहेका शिक्षकलाई फेरी नगर शिक्षकको विज्ञापन गरेर त्यसमा सहभागी गराउन खोजे त्यसमा सहभागी नहुने निर्णय नै गरेका छौ’ उनले भने ‘नगरले माग सुनुवाइ नगरे अदालत जाने लिखित निर्णय नै गरेका छौ ।’
एकातिर यसअघि प्रक्रिया पुरा नगरी नगर शिक्षक राखेको बताउँदै आएको नगरपालिकाले भने रिक्त रहेका स्थानमा पुरानै प्रक्रिया अनुसार शिक्षक पदपूर्ति गरेको थियो । विवाद आएपछि भने पछिल्लो ६ महिना यता रिक्त भएका नगर शिक्षक पदपूर्ति गरिएको छैन । नगरपालिकाले रिक्त भएका नगर शिक्षक पदपूर्ति नगर्दा पठनपाठन पनि प्रभावित हुन थालेको छ । पछिल्लो समय १२ जना नगर शिक्षकले पदबाट राजीनामा दिइसकेको नगरपालिकाको तथ्याङ्कमा उल्लेख छ ।
नगर शिक्षक समितिकाका अध्यक्ष तपराज ओझाले नगर शिक्षकलाई प्रक्रियामा लग्न पुनः परीक्षा गर्ने भन्ने सुने पनि आधिकारिक जानकारी भने नआएको बताए । उनले नगर शिक्षकका माग भने हाल सम्म पनि यथावत् रहेको बताए । ‘सेवा सुविधा बढाउने भनेर मेयरले आफैले आश्वासन दिए पनि त्यो लागु भएको छैन’ उनले भने ‘३५ हजार सम्म तलब पु¥याउन्छु भनेर मेयर बोले पनि त्यो लागू भएन ।’ उनले हाल नगर शिक्षकलाई पोसाक भत्ता र सञ्चय कोष काट्ने कुरा गरे पनि कार्यान्वयनमा नभएको बताए ।
गोदावरी नगरपालिकाको शिक्षा शाखाका प्रमुख प्रयाग राज जोशीले भने नगर शिक्षकको पुनः परीक्षा गर्ने निर्णय नभएकाले अहिले केही भन्न नसकिने बताए । उनले पछिल्लो ६ महिना यता रिक्त रहेका नगर शिक्षक पनि पदपूर्ति नगरिएको बताए । उनले दरबन्दी मिलान गर्ने भनेर पदपूर्ति नगरिएको बताए ।
हाल नगरपालिकामा बढी जसो मुख्य विषय (अंग्रेजी र गणित) नगर शिक्षकले अध्यापन गराउँदै आएका छन् । तर, ३ वर्ष देखि आन्दोलित शिक्षकहरूलाई नगरपालिकाले कहिले सेवा सुविधा बढाउने, कहिले नगर शिक्षकलाई पुनः परीक्षा दिन लगाउने कुराले शिक्षकहरु अन्योलमा छन् ।