अत्तरिया – कैलालीको अत्तरियामा रहेको किड्स जोन एकेडेमीले प्रत्येक वर्ष विद्यालयमा अध्ययनरत बालबालिकाहरुबाट कार्यक्रम सञ्चालन गर्ने गरेको छ । सोही अनुसार विद्यालयको ८ औं वार्षिकोत्सवको कार्यक्रम पनि बालबालिकाहरुले सञ्चालन गरेका छन । आफ्ना अगाडि नै बालबालिकाहरुले निर्धक्क साथ कार्यक्रम सञ्चालन गरेको देख्दा अभिभावकहरु पनि हर्षित थिए । विद्यालयमा आयोजना हुने सबैभन्दा वृहत कार्यक्रमको सम्पुर्ण जिम्मेवारी सुम्पिएको विद्यालय प्रशासनलाई पनि बालबालिकाहरुले निराश बनाएनन् ।

उक्त विद्यालयमा कक्षा ३ देखि कक्षा ७ सम्म पढ्ने ६ जना बालबालिकाहरुले वार्षिक उत्सवमा उद्घोषकको रुपमा कार्यक्रम सञ्चालन गरेका थिए । सो समयमा उनिहरुले बिचबिचमा अतिथिको आशन ग्रहण गर्नेदेखि कविता या गित मार्फत सन्देश दिने कार्यहरु समेत गरिरहेका थिए ।

८ वर्षकी स्मृति जोशी र १० वर्षका प्रज्वल भट्टले सुरुवाती चरणमा कार्यक्रम आयोजना गरेका थिए । कार्यक्रमको उद्घाटन देखि अतिथिहरुको आसन ग्रहण सम्मको सबै पाटो ति साना बालबालिकाहरुलाई दिईएको थियो । त्यसपश्चात १३ वर्षिया सम्बृद्धी भट्ट, सोही उमेरका रोशन बोहरा, १० वर्षिय तनिश पाठक र ११ वर्षिया सम्भवी भट्टले पालैपालो कार्यक्रम चलाए । कार्यक्रममा सहभागी अतिथि तथा अभिभावकहरु पनि बालबालिकाहरुको प्रतिभा देखेर छक्क परेका थिए ।

८ वर्षिया स्मृति जोशीका आमा हिरा जोशीले छोरीको प्रतिभा देखेर आफु अचम्मीत भएको बताईन् । उनले आफुले अपेक्षा गरेभन्दा विल्कुलै फरक तरिकाले स्मृतिले कार्यक्रम सञ्चालन गरेको बताईन । ‘म त अचम्ममा परेकी थिए, विद्यालयको वृहत कार्यक्रम, अतिथि एवम् अभिभावकहरुको भिडभाडमा सानो बालिकाले नराम्रो पो गर्छ की लागेको थियो’ उनले भने ‘तर पनि केही दिनकै तालिममा छोरी (स्मृति) ले एकदमै राम्रो तरिकाले जिम्मेवारी निभाएको देख्दा एकदमै खुसी लागेको छ ।’
विद्यालयले प्रत्येक वर्ष विद्यालयका साना बालबालिकाहरुलाई नै कार्यक्रम चलाउने जिम्मेवारी दिने गरेको छ । जसका कारण विद्यार्थीहरुको स्टेजमा गएर बोल्न सक्ने क्षमताको विकास भैरहेको विद्यालयका सञ्चालक मदन जोशी बताउँछन । उनले बालबालिकाहरुको प्रतिभा देखेर आफुपनि हर्षित भएको बताए । उनले हप्ता दश दिनको तालिम पाएर नै बालबालिकाहरुले आफ्नो सर्वाेत्कृष्ट उद्घोषण कला प्रस्तुत गरेको बताए । ‘हुन त यस्ता तालिमहरु हामीले आयोजना गरिरहन्छौ, तर कार्यक्रम सुरु हुनुपुर्व विगत हप्ता दश दिन देखी मात्रै हामीले उनिहरुलाई प्रिपेयर बनाएका हौ’ उनले भने ‘यति छोटो समयमा नै उनिहरुको सिकाई कला देखेर हर्षित छु, सानो सानो कुराहरुलाई पनि बालबालिकाहरुले राम्रो तरिकाले प्रस्तुत गरे ।’
उनले आफुले विद्यालयमा विशुद्ध बालमैत्री बनाउने उद्देश्यले नै कार्यक्रम सञ्चालनको जिम्मेवारी पनि बालबालिकाहरुलाई दिने गरेको बताए । ‘नाम नै किड्स जोन छ, बालमैत्री विद्यालय बनाउन प¥यो नी’ उनले भने ‘फेरी बालबालिकाहरुले यो उमेरमै यस्ता कुराहरु सिके भने भविष्यमा उनिहरुले निर्धक्क साथ बाहिर बोल्न पनि सक्छन ।’ सञ्चालक जोशीले बालबालिकामा बाहिरी ज्ञान सिपको पनि विकास गराउन उक्त जिम्मेवारी दिने गरिएको बताए ।
‘अहिलेको समय किताबी ज्ञान दिएर मात्रै सबैकुरा गर्न सकिन्छ भन्ने खालको छैन, यो समयमा सबै किसिमका सिपहरु विद्यार्थीलाई दिनुपर्ने हुन्छ’ उनले भने ‘त्यहि भएर मैले उक्त जिम्मेवारी बालबालिकाहरुलाई नै दिने गरेको छु, केही त्रुटी भएपनि बालबालिकाले सिक्ने अवसर पाउँछन, अभिभावकमा पनि आफ्नो बालबालिकाको प्रतिभा देख्ने अवसर मिल्छ ।’
पिजि देखि ८ कक्षा सम्म सञ्चालनमा रहेको उक्त विद्यालयमा हाल ५३६ जना विद्यार्थिहरु अध्ययनर रहेका छन । जसमा सबै विद्यार्थीहरु करिब १३ वर्ष उमेर समुहकै रहेका छन । ति विद्यार्थीहरुले नै वार्षिक उत्सवमा सहभागी अभिभावक तथा अतिथिहरुलाई मनोरञ्जन दिईरहेका थिए ।
भिडियो
