अत्तरिया – सुदूरपश्चिम प्रदेश सभा सदस्य खेमादेवी विष्टले एकल महिलाका छोराछोरीले एमबीबीएस पढ्न पाउने व्यवस्था हुनुपर्ने बताएकी छिन । कैलालीको कैलारी गाउँपालिका–६ मा शुक्रबार बनकट्टा शान्ति सङ्ग्रहालयको उद्घाटन कार्यक्रममा बोल्दै विष्टले सो कुरा बताएकी हुन ।

उनले भनीन ‘एकल महिलाका छोराछोरीले पनि एमबीबीएस पढ्न पाउने गरी व्यवस्था हुनुपर्दछ ।’ उनले एकल महिलालाई अरु राहतभन्दा पनि अधिकार चाहिएको बताइन । एकल महिलाको लागि आफूले पहिले सडकबाट लडेको र अहिले सदनमा लडिरहेको उनको भनाइ छ ।

बनकट्टा शान्ति सङ्ग्रहालयको प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टले उद्घाटन गरेका थिए । एक महिला, द्वन्द्वपीडितलाई सहयोग र पुनः स्थापनाका लागि शान्ति संग्रहालयको स्थापना गरिएको जनाइएको छ । वडा कार्यालयको १० लाख रुपियाँको सहयोगमा सङ्ग्रहालय निर्माण भएको वडाध्यक्ष प्रेम चौधरीले जानकारी दिए ।