धनगढी- नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशमा मान बहादुर धामीलाई संसदीय दलको नेता चयन गरेको छ । आज बसेको माओवादी प्रदेश संसदीय दलको बैठकले सांसद धामीलाई नयाँ संसदीय दलको नेता चयन गरेको हो ।

यसअघिका दलको नेता खगराज भट्टलाई हटाएर धामीलाई चयन गरिएको संसदीय दलका उपनेता अक्कल रावलले बताए । दलको नेता परिवर्तन गरेको पत्र प्रदेशसभा सचिवालयमा पठाइएको बताइएको छ ।

बैठकमा दलको नेता खगराज भट्ट, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामी, सामाजिक विकास मन्त्री झपट साउँद र प्रदेशसभा सदस्य जानकी पौडेल कुँवर अनुपस्थित थिए ।
नयाँ दलको नेता तोकिएका धामी दार्चुलाबाट निर्वाचित प्रदेश सभा सदस्य हुन् । उनी सुदूरपश्चिमका पूर्व उद्योग पर्यटन वन तथा वातावरण मन्त्री समेत हुन् । सुदूरपश्चिममा माओवादी केन्द्र दुई मन्त्री र एक राज्यमन्त्रीसहित सरकारमा छ ।
















