दार्चुला – दार्चुलाको महाकाली नगरपालिका–१ दहमा एक युवकले प्रहरीमाथि चक्कु प्रहार गरेका छन् । दहका २५ वर्षीय उमेश कुँवरले आइतबार १२ बजेतिर डिउटीमा खटिएका प्रहरी हवल्दार जयबहादुर खड्का र प्रहरी जवान डम्मरबहादुर ठगुन्नामाथि चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी डीएसपी शिवबहादुर सिंहका अनुसार युवकलाई पक्राउ गर्न गएका प्रहरीमाथि नै चक्कु प्रहार भएको हो । उनले युवकले प्रहरीलाई चक्कु प्रहार नगरेको र उनकी पत्निलाई प्रहार गरेको चक्कुले प्रहरीलाई लागेको हो ।
चक्कु प्रहारबाट प्रहरी जवान ठगुन्नाको आँखा नजिक गहिरो र गर्धनमा चोट लागेको छ । हवल्दार खड्कालाई सामान्य चोट लागेको बुझिएको छ । उनीहरुको जिल्ला अस्पतालमा उपचारपछि कार्यालयमा फर्किएको डीएसपी सिंहले बताए ।
उमेशले श्रीमती धनिशालाई कुटपिट गर्ने गरेको भन्दै धनिशाकी दिदीले प्रहरीमा निवेदन दिएकी थिइन् । उनीविरुद्ध प्रहरीमा निवेदन आएपछि उमेशलाई नियन्त्रणका लागि सामुदायिक प्रहरी बाङ्गाबगरबाट गएको प्रहरी टोलीमाथि आक्रमण भएको दार्चुलाका प्रहरी प्रमुख सिंहले बताए ।
चक्कु प्रहार गरेर कुँवर फरार भएका छन् । उनको खोजीका लागि प्रहरी टोली परिचालन गरिएको छ । उमेश र धनिशाले भदौमा भागी बिहे गरेको बुझिएको छ ।