अत्तरिया – राष्ट्रिय सभा निर्वाचनलाई लक्षित गरी सत्ता गठबन्धन दलले सुदूरपश्चिममा गठन गरेको समन्वय समितिले आफ्नो कार्यको थालनी गरेको छ । आज नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको कार्यालयमा राष्ट्रिय सभा निर्वाचन प्रदेश समन्वय समितिका संयोजक एवं काँग्रेस सुदूरपश्चिम प्रदेश महामन्त्री मेघराज खड्काको अध्यक्षतामा बसेको बैठकले आजदेखी कार्यको थालनी गरेको जनाएको हो ।
![maya metro hospital](https://attariyaonline.com/wp-content/uploads/2022/08/Maya-metro-big-banner-gif-1.gif)
सुदूरपश्चिमबाट सत्ता गठबन्धन दलका उम्मेदवारहरुलाई विजयी गराउने लक्ष्यका साथ समिति गठन गरिएको थियो । समितिले प्रदेशमा सत्ता गठबन्धन दलका उम्मेदवारलाई बिजयी गराउन जिल्ला स्तरीय सत्ता गठबन्धन दलहरूलाई जिल्ला समन्वय समिति चाँडो गठन गर्न निर्णय गरेको छ । त्यस्तै राष्ट्रिय सभा निर्वाचनका लागि मतदातालाई माघ ९ गते भित्र कैलाली आईपुग्न निर्देशन दिने समेत निर्णय गरेको समितिका संयोजक खडकाले बताए ।
बैठकमा समन्वय समितिका सदस्यहरु नेकपा माओवादी केन्द्रका जनक बहादुर बुढा, नेकपा समाजवादीका दिनेशचन्द्र सुवेदी, नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरी, राष्ट्रिय सभा सदस्यका उम्मेदवारहरु काँग्रेसबाट कैलाली जिल्ला सभापति समेत रहेका नारायण दत्त भट्ट, नेकपा माओवादी केन्द्रका तर्फबाट केन्द्रीय सदस्य समेत रहेका रेणु चन्द लगायतको उपस्थिति रहेको थियो ।
![attariya hospital](https://attariyaonline.com/wp-content/uploads/2024/04/attariya-hospital.gif)