कञ्चनपुर – जनताको सरकार भन्दा भ्रष्टाचारीको सरकार बन्न लागेको भन्दै राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रदेश खारेजी हुनु पर्ने बताएका छन । आइतबार राप्रपा नेपाल सुदूरपश्चिम प्रदेश समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापाले यस्तो बताएका हुन ।

‘देशमा प्रादेशिक संरचना परिवर्तन गर्नुपर्ने छ, प्रदेश सरकार भ्रष्टिकरण, कमिसनखोरी, दलालीकरण देखि अनियमिततामा लिप्त् भएर मुलुकमा समस्या आएको छ’ अध्यक्ष थापाले भने ‘चाँडै संघीयता खारेज नभए देशमा खतरा उत्पन्न हुन्छ संघीयता खारेजी गर्न सबै एकजुट हुनुपर्छ ।’

उनले संघीयताको स्वरुप समेत परिवर्तन गरेर निर्वाचन प्रणालीमा सुधार र मिश्रित निर्वाचन खारेजी गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको चुनाव गराउनुपर्नेमा जोड दिए ।
नयाँ राजसंस्था विगतको जस्तो परम्परावादी नभइ परिवर्तन र सहकार्य गर्नसक्ने राजसंस्था चाहिने अध्यक्ष थापाले बताए ।


‘मुलुक अघि बढाउन साझा अभिभावक चाहिएको छ । एक नैतिक अभिभावकको खाँचो छ । मुलुकको राष्ट्रियता बचाउन प्रजातान्त्रिक राजसंस्था ल्याउन अघि बढाउनुपर्छ’ अध्यक्ष थापाले भने ।
अध्यक्ष थापाले आफ्नो राजनीतिमा दरबारले षड्यन्त्र गरेको आरोप लगाएका छन । पूर्व राजा ज्ञानेन्द्र शाहका सचिवहरूले राप्रपामा खेलेर आफूलाई अध्यक्षमा पराजित गराएको उनले बताए ।
‘म पराजित भएको होइन गराइएको हो, मलाई पराजित गराउन सिङ्गो निर्वाचन समिति नै परिचालन गराइयो’ उनले भने ‘मेरो नाममा छाप लागेर आएका ४ सय ७२ मत जानीजानी बदर गराइएको हो ।’
राजाले पार्टी खोले राजा सकिने बताउँदै थापाले राजा सबैका साझा र राजसंस्थालाई सबैले उपयोग गर्नुपर्ने समय आएको बताए ।
भिडियो