अत्तरिया – भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरीले सहकारी पैसा कमाउने थलो नभएको बताएका छन । शनिबार गोदावरी नगरपालिका – ११ ओलानीमा रहेको गोदावरी कृषि विकास सहकारीको १२ औं साधारण सभामा बोल्दै मन्त्री चौधरीले सहकारी पैसा कमाउने भन्दा पनि सेयर सदस्यको आर्थिक अवस्था उकास्ने थलो भएको बताए ।
‘सहकारी विस्थापित भइरहको भन्नु गलत बुझाइ हो । सहकारी पैसा कमाउनले थलो होइन’ उनले भने ‘सहकारीको उद्देश्य सेयर धनीलाई धनी बनाउने हुनुपर्छ । कसरी मालिक बनाउने हुनुपर्छ ।’
उनले गोदावरी कृषि सहकारीले सहकारीको लक्ष्य अनुसार काम गरिरहेको बताए । ‘यो सहकारी पीडै पीडामा जन्मेको छ । यस सहकारीले साहुमहाजनबाट मुक्ति दिलाएको छ’ उनले भने ‘पिछडिएको क्षेत्रमा रहेको यस सहकारीको विकासका लागि मन्त्रालयले पनि सहयोग गर्छ ।’ उनले सहकारीले प्राङ्गारिक मल बनाउने कार्य उत्कृष्ट रहेको बताए ।
उनले बिचौलियाको नाममा अनुदान लिने ट्रेनलाई मन्त्रालयले चिरेको बताए । ‘हामीले को नक्कली किसान हो, को सक्कली किसान हो त्यसमा भेरिफाइ गरिरहेका छौ’ उनले भने ‘हामीले मन्त्रालयबाट काम गर्ने सहकारी र किसानलाई सहायता दिने छौ ।’
साधारण सभामा संस्थाको प्रगति प्रस्तुत गर्दै अध्यक्ष कृष्ण विकले सहकारी मार्फत ८२ किसानले तरकारी खेती गरेको, प्रत्येक सेयर सदस्यको घरमा गोठे मल खाल्डो सुधार अभियान सञ्चालन गरेको, अनुदानमा भैंसी वितरण, ९२ जनालाई बेमौसमी तरकारी खेती तालिम दिएको, बाख्रा पालनका लागि ९ प्रतिशत ब्याजदरमा ऋण प्रवाह गरेको बताए ।
यस्तै सहकारीले किसानलाई रासायनिक मल, खाद्यान्न तथा तरकारीका मल, वितरण सँगै किराना पसल कर्जा, पोल्ट्री व्यवसाय लगायतका कर्जा प्रदान गरेको अध्यक्ष विकले बताए । उनले सहकारीले आगामी दिनमा तरकारी खेती विस्तार, हाट बजार स्थापना, कृषि सामग्री पसल सञ्चालन लगायतका कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखिएको बताए ।