अत्तरिया – कैलालीको अत्तरिया बजार पुनः कुरूप बन्न थालेको छ । बजारलाई व्यवस्थित गर्न बनाइएका मापदण्ड लागू नहुँदा बजार कुरूप बन्न थालेको हो । गोदावरी नगरपालिकाले बजारलाई व्यवस्थित गर्न ठेलागाडाले निश्चित समयमा मात्रै व्यवसाय सञ्चालन गर्न पाउने, फुटपाथ खाली गर्नुपर्ने नियम बनाएको थियो । तर, पछिल्लो समय बनाएका नियम कार्यान्वयनमा चासो नदिदा बजार कुरूप बन्न थालेको हो ।
दशैँ यता बजार क्षेत्रमा तोकिएको भन्दा अन्य समयमा पनि ठेलागाडा राख्ने गरिएको छ भने सटरमा व्यवसाय गरिरहेका व्यवसायीले पनि फुटपाथमा सामान राख्न थालेका छन । नगरपालिकाले गत मंसिर महिनामा बजार क्षेत्रमा फुटपाथ अतिक्रमण गरी निर्माण गरिएका पसल अगाडिका पालि हटाएर सडकको क्षेत्राधिकार भित्र पर्ने संरचना हटाएको थियो । नगरपालिकाले फुटपाथ माथि व्यवसायीले निर्माण गरेका संरचना नहटाएपनि १ वर्ष नपुग्दै पुनः फुटपाथ ढाक्ने गरी पालि निर्माण गर्न थालिएका छन । फुटपाथमा पनि हिँड्नै नमिल्ने गरी सटर भाडामा लिएर बसेका व्यवसायीले ओगटेका छन ।



नगरपालिकाले ठेलागाडा व्यवस्थापनको लागि अत्तरिया बसपार्क र पुर्व रोडको ट्राफिक पोष्ट अगाडिको ठाउँ तोकेको थियो । बिहान ८ बजे सम्म र साँझ ६ बजे पछि भने बजार क्षेत्रमा पनि ठेलागाडा निश्चित स्थानमा राख्न पाउने नियम बनाएको थियो । तर, हाल ठेलागाडाहरुले पनि मनोमानी तरिकाले दिनभरी नै सडक र सर्भिस लेन नै अवरुद्ध हुने गरी व्यवसाय गर्न थालेका छन । यसरी व्यवसायीले सडक र फुटपाथमा रजगज जमाउँदा सवारी चलाउने र पैदल हिड्ने यात्रुलाई भने निकै समस्या हुने गरेको छ ।

मोटरसाइकल चालक अनिल मल्लले सर्भिस लेनमा मोटरसाइकल चलाउनै समस्या हुने गरेको बताए । उनले पुरै सडकमा ठेला भरिदा ओहोरदोहोर गर्न समस्या भएको बताए । स्थानीय जीवन चौधरीले फुटपाथमा व्यवसायीका सामान भरिएकाले आफू सर्भिस लेन र मुख्य सडकमै हिड्ने गरेको बताए ।


उनले सटर भाडामा लिएर बसेका व्यवसायीहरूले पनि फुटपाथमा सामान राख्ने गर्दा बजार कुरूप देखिने गरेको बताए । स्थानीय व्यवसायी पदम कार्कीले नगरपालिकाले व्यवस्था गर्दा बजारमा कुरूप बनेको बताए । उनले बजारमा ठेलागाडा लगाउने समय निर्धारण गरिएको भएपनि सो समय भन्दा अगावै ठेलागाडा बजारमा राखिने गरेको बताए । उनले बजारमा ठेलागाडा व्यवस्थापनका लागि नगरपालिकाले नगरप्रहरी परिचालन गर्नुपर्ने बताए ।
ठेला व्यवसायी जय सिह विश्वकर्माले दशैँ यता मात्रै तोकिएको समय बाहेक ठेलागाडा राख्न थालेको बताए । उनले दशैँ अघि नगरले तोकेको ठाउँमा ठेला राखेर व्यवसाय गर्दै आएको भएपनि दशैँ पछि बिदाका दिनहरूमा बजार क्षेत्रमा ठेला लगाउने गरेको बताए । बजारमा ठेला लगाएपनि व्यापार भने नहुने गरेको उनको गुनासो छ । ‘बजारभरि आफूजस्तै धेरै ठेला राखिएका छन्’ उनले भने ‘ठेलाहरुको भिड हुँदा व्यापार सोचेजस्तो भएको छैन ।’



















