अत्तरिया – गोदावरी नदीले कटान गरेको क्षेत्रबाटै नदीजन्य पदार्थ उत्खननको तयारी गरिएपछि स्थानीयले विरोध जनाएका छन । कैलालीको गोदावरी नगरपालिकाले मंगलबार देखि नदीजन्य पदार्थ संकलन खुला गरेपनि स्थानीयले उत्खननले जोखिम बढ्ने भन्दै गोदावरी नदीबाट नदीजन्य पदार्थको संकलनमा रोक लगाएका हुन । स्थानीयले चुरे फेदमा रहेको गोदावरीबाट नदीजन्य पदार्थ संकलन गर्दा पुरै अत्तरिया क्षेत्र नै जोखिममा परेकाले पहिले जोखिम न्यूनिकरणको सुनिश्चितता हुनुपर्ने बताएका छन ।
गोदावरी नगरपालिका – २ तेघरीका प्रकाश दत्त भट्टले कोठामा बसेर आईई रिपोर्ट तयारी गरी खोला नालाबाट नदीजन्य पदार्थ संकलन गरिदा बस्ती जोखिममा परेको बताए । ‘यसअघि पनि हामीले गोदावरी नदीबाट उत्खनन गर्न रोक्न खोजेका थियौ । उत्खनन गरेको ठाउँमा तटबन्धन निर्माण गर्ने भनेर हामीलाई झुक्याइयो’ उनले भने ‘अहिले जेसीवी, स्काभेटरले उत्खनन गर्दा नदीको सतह नै गहिरो भइसकेको छ । जसले गर्दा जमिन मुनिको पानी पनि सुक्दै गएको छ ।’ उनले अहिले प्रकृतिलाई च्यालेन्ज गर्ने काम भएकाले यसको परिणाम राम्रो नहुने बताए । उनले गोदावरी नदीबाट नदीजन्य पदार्थको संकलन गर्ने कार्य नै बन्द गरिनु पर्ने बताए । उनले गोदावरीमा उत्खनन गर्ने कार्य नरोकिए तराइमा पानीको श्रोत सुक्ने बताए ।


स्थानीय कृष्ण ओझाले गोदावरी नदीबाट उत्खनन गरिदा हाल नदीको सतह गहिरो भएर बस्ती भएको क्षेत्र तर्फ कटान सुरु भएको बताए । उनले गोदावरी नदीका कारण बस्ती जोखिममा परेपछि स्थानीय ८३ जनाको हस्ताक्षर सहित नगरपालिकामा तटबन्धका लागि अनुरोध गरेपनि सुनुवाइ नभएको बताए । उनले नदीले कटान गरेकै क्षेत्रबाट पुनः नदीजन्य पदार्थ संकलनको तयारी गरिएपछि आफूहरूले विरोध गरेको बताए । यसअघि सो क्षेत्रमा गरिएको तटबन्ध केही नदीले बगाएको र केही तटबन्धनका ढुंगा चोरी भएको उनले बताए ।
‘नदीजन्य पदार्थ संकलन खुला गरेपछि ट्याक्टर व्यवसायीहरूले नदीले कटान गरेको भित्ताबाटै ढुंगा निकालेर लग्ने भएकाले बस्ती झन जोखिममा पर्ने देखिएको छ’ उनले भने ‘स्थानीय सरकारले नदीबाट करोडौं रोयल्टी संकलन गरेपनि सोही अनुसार संरक्षणमा पनि ध्यान दिनुपर्छ । नत्र भयावह अवस्था आउने जोखिम छ ।’

स्थानीय देउराम बोहराले गोदावरी खोलाबाट रोयल्टी संकलन मात्रै नगरेर त्यस क्षेत्रमा जोखिम कम हुने गरी तटबन्धन पनि निर्माण गरिनुपर्ने बताए । ट्याक्टर व्यवसायी समेत रहेका बोहराले रोयल्टी बढाएर खोलानालाबाट ढुंगा बालुवा बिक्री गर्ने कार्य मात्रै नगरी सोही अनुसारको प्रतिफल पनि स्थानीय स्तरमा पाइनुपर्ने बताए । रोयल्टी बढाउनु भन्दा पनि मजदुरको ज्याला बढाउनु पर्ने उनको तर्क छ ।

स्थानीय हरी महराले रोयल्टी बढाएर पैसा असुल्ने काम मात्रै नगरी नदीको संरक्षणमा पनि ध्यान दिइनुपर्ने बताए । ‘नगरपालिकाले नदीजन्य पदार्थ विक्री गरेर आम्दानी गरिरहेको छ । त्यसको स्थानीयलाई कुनै पनि फाइदा छैन’ उनले भने ‘न बाटो बनेको छ । न नदीमा तटबन्ध निर्माण गरिएको छ ।’ उनले नगरपालिकाले पुर्व सूचना बिनै नदीजन्य पदार्थको संकलन खुलाएको भन्दै विरोध जनाए ।
स्थानीय दिपक ओझाले गोदावरी नदीबाट लामो समयदेखि नदीजन्य पदार्थको संकलन गरिए पनि यस क्षेत्रको विकासका लागि सो अनुसारको काम नभएको बताए । उनले यसै बर्ष पनि गोदावरीमा आएको बाढीले ठूलो क्षति पु¥याएकाले भविष्यमा पनि जोखिम दोहिरिन सक्ने भएकाले नदीजन्य पदार्थको संकलन संगै तटबन्ध निर्माणमा पनि ध्यान दिइनुपर्ने बताए ।
गोदावरी नगरपालिकाले नगरभित्र रहेका खुटिया, खैराना र गोदावरी नदीबाट नदीजन्य पदार्थ बिक्री गरेर रोयल्टी संकलन गर्दै आएको छ । यस वर्ष नगरपालिकाले २ पटक सम्म बोलपत्र आह्वान गर्दा समेत कसैको आवेदन नपर्दा आफैले रोयल्टी संकलन गर्ने भन्दै मंगलबार देखि खोलानाला खुलेको सूचना जारी गरेको थियो ।
नगरपालिकाले तेस्रो पटक बोलपत्र आह्वान गरेपनि संगसंगै नदीजन्य पदार्थको संकलन पनि खुलाएको छ । तर, चालु आर्थिक वर्षमा रोयल्टी शुल्क बढाएको भन्दै ट्याक्टर व्यवसायीहरूले पनि नदीजन्य पदार्थ संकलन गर्न अस्वीकार गरेपछि गोदावरी सहित अन्य नदीबाट नदीजन्य पदार्थ संकलनको काम सुरु हुन सकेको छैन । गोदावरी नदीमा भने स्थानीयले जोखिम न्यूनिकरणको सुनिश्चिता भएपछि मात्रै नदीजन्य पदार्थको संकलन गर्न दिने बताएका छन ।

















