महेन्द्रनगर – सुदूरपश्चिम विश्वविद्यालयमा अढाई महिनादेखि लगाइएको ताला खुलेको छ । विद्यार्थी संगठनहरुले विभिन्न माग राख्दै केन्दीय कार्यालयमा गरेको तालाबन्दी विश्वविद्यालय प्रशासन र विद्यार्थी संगठनबीच भएको सहमति पछि खुलेको हो ।

विश्वविद्यालय प्रशासन र समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूबीच विश्वविद्यालयका नियुक्ति विश्वविद्यालयको ऐन नियम बमोजिम गर्ने, विश्वविद्यालयको ऐन बमोजिम समायोजन गर्ने र गत भदौमा परिक्षा नियन्त्रक कार्यालयमा भएको तोडफोडपछि अनेरास्ववियूका नेतालाई लगाएको मुद्धा फिर्ता लिने सहमतिपछि केन्द्रिय कार्यालयको ताला खुलेको अनेरास्ववियूका जिल्ला संयोजक रमेश पन्तले जानकारी दिए ।

केन्द्रिय कार्यालयमा साउन १ गते नेकपा एमाले निकट अनेरास्ववियू र राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रीक विद्यार्थी संगठनले तालाबन्दी गरेको थियो । यी दुई संगठनसंग सहमति भएर यसअघि नै ताला खुले पनि नेकपा एकिकृत समाजवादी निकट विद्यार्थी संगठनको ताला खुल्न सकेको थिएन ।
समाजवादी निकट अनेरास्ववियूका माग पुरा गर्ने सहमति पछि बिहिबार विश्विद्यालयको ताला खुलेको सुदूरपश्चिम विश्वविद्यालयले जनाएको छ ।