अनिश्चितताका बीच अधिकार खोजीको यात्रामा शिक्षक

अत्तरिया – काठमाण्डौं केन्द्रित आन्दोलन गर्ने क्रममा विभिन्न जिल्लाहरुबाट शिक्षकहरू जाने क्रम जारी छ । काठमाण्डौंमा सुरु भएको शिक्षकहरूको आन्दोलनमा सहभागि हुन बुधबार पनि अत्तरिया बसपार्क शिक्षकहरूले भरिभराउ थियो । सरकारले संसद् सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा नेपाल शिक्षक महासङ्घले आह्वान गरेको आन्दोलनमा सहभागि हुन काठमाण्डौं गइरहेका शिक्षकहरूका अनुहार भने मलिन थिए ।

maya metro hospital

शिक्षा विधेयकको विरोधमा आन्दोलन गर्न आफ्नै व्यक्तिगत खर्चमा काठमाण्डौं गइरहेका शिक्षकहरू सँग कहाँ बस्ने, कति समय बस्ने, कसरी बस्ने भन्ने प्रश्नको जवाफ थिएन । पटकपटक आन्दोलन गर्दै सहमति गरेका बुँदाहरू पनि कार्यान्वयनमा नआएपछि यस पटक भने शिक्षकहरूले माग सुनुवाइ नहुँदा सम्म काठमाण्डौं नछोड्ने गोदावरी नगरपालिका – ७ दुर्गाभवानी माविका राहत शिक्षक भूपेन्द्र बहादुर चन्दले बताए ।

उनले अहिलेको आन्दोलन वारपारको हुने बताए । ‘संसदमा पेश भएको शिक्षा विधेयकलाई हामीले कालो दस्तावेजका रुपमा लिएका छौ । यसले समग्र शिक्षा क्षेत्रलाई तहसनहस पार्ने काम गरेको छ । ५२ वर्षपछि पछि आइरहेको यो ऐन शिक्षा क्षेत्रलाई तहसनहस गर्ने गरी आएको भएर यसलाई सच्याएर ल्याउन हाम्रो आन्दोलन हो’ अत्तरिया बसपार्कमा भेटिएका चन्दले भने ‘हामी जबसम्म माग पुरा हुँदैनन् तब सम्म काठमाण्डौंमा बसेर आन्दोलन गर्ने छौ । यो वारपारको लडाइ हो ।’

attariya hospital

चुरे गाउँपालिका – ४ मा रहेको समैजी आविका शिक्षक बुद्धि सागरले काठमाण्डौंमा कती बस्ने टुङ्गो नभएको बताए । उनले यसअघि सम्झौता गरिएका बुँदा शिक्षा विधेयकमा नसमेटेर सरकारले शिक्षकलाई घर न घाटको बनाउन थालेपछि आन्दोलन गर्न बाध्य भएको बताए । ‘जिन्दगीभर शिक्षण पेसामा लागेर अहिले शिक्षा विधेयकले घर न घाटको बनाएपछि आफ्नो अधिकार खोज्नको लागि हिँड्नुपरेको छ’ उनले भने ‘हामीले पहिले पनि आन्दोलन गर्दै सम्झौता गरेका थियौ । तर, सम्झौता गरिएका बुँदा अहिलेको शिक्षा ऐनमा समेटिएनन् ।’

गोदावरी नगरपालिका – १० मा रहेको जानकी माविका शिक्षक लाल बहादुर विकले नेपाल सरकारले ल्याएको शिक्षा विधेयकले शिक्षक माथी अन्याय अत्याचार गरेको महसुस भएर आन्दोलनका लागि काठमाण्डौ हिँडेको बताए । उनले विद्यार्थीको भविष्य बनाउन हिँडेका शिक्षककै भविष्य अन्योलमा परेपछि आन्दोलनमा होमिनुपरेको बताए । ‘विद्यालयमा पठनपाठन बन्द भएको छ । तर, शिक्षकको भविष्य नै अन्यौलमा परेका बेला विद्यार्थीको भविष्य कसरी हेर्ने भन्ने चुनौती छ’ उनले भने ।

गोदावरी नगरपालिका – ४ हाटखोलीमा रहेको दुर्गा माविका प्रधानाध्यापक कर्ण बहादुर साउदले समग्र शिक्षाको सुधारका लागि आफूहरुको आन्दोलन भएको बताए । ‘शिक्षक आफ्नो हक हितका लागि मात्रै गइरहेका छन भन्ने केहीको बुझाइ होला तर हामी समग्र शिक्षाको सुधारको लागि काठमाण्डौं केन्द्रित आन्दोलन गइरहेका हौ’ उनले भने ‘हामीले २०२८ सालमा ल्याइएको शिक्षा ऐनमा भएका त्रुटि अहिलेको शिक्षा विधेयकमा सुधार भएर आउने अपेक्षा गरेपनि ५२ वर्षपछि आइरहेको अहिलेको शिक्षा विधेयक अहिलेको समय सुहाउँदो हुनुपर्नेमा झन १०० वर्ष पुरानो जस्तो आएको छ ।’

उनले हालको शिक्षा विधेयकले शिक्षकका मौलिक हक अधिकार कटौती गर्ने काम गरेको बताए । उनले शिक्षामा अग्रगमन हुनुपर्नेमा शैक्षिक प्रतिगमन भएको बताए । उनले भने ‘हामी हाम्रो पेशागत हक अधिकार सँगै विद्यार्थी, अभिभावको अधिकार कटौती गर्ने गरी विधेयक आएकाले यो सुधार गरि राष्ट्रको शिक्षाको ट्रयाकलाई सही ठाउँमा ल्याउनु पर्छ भनेर आन्दोलनमा होमिएका छौ ।’

एनएनटी सदस्य नेत्राना जोशीले शिक्षकसँग यसअघि गरिएका माग सम्बोधन नगरी झुक्याएर शिक्षा विधेयक ल्याइएको बताइन् । ‘राहत, बालविकास शिक्षक, विद्यालय कर्मचारी उच्च मावि शिक्षकहरू लगायत अस्थाई, स्थाई थुप्रै किसिमका शिक्षकहरूका बारेमा शिक्षक महासंघ सँग सम्झैता एक किसिमको गरियो । अहिले झुक्याएर विधेयक अर्कै किसिमले ल्याइयो’ उनले भनिन् ‘हामीले शिक्षकहरूलाई अपडेट गर भनेका हौ । शिक्षकको अधिकार पेसागत ग्यारेन्टी, गुणस्तरीय शिक्षाका कुरा हामीले उठान गरेका छौ ।’ उनले अहिले संसदमा पेस गरिएको शिक्षा विधेयक युग सुहाउँदो नभएको बताइन् ।

उनले कक्षा कोठा नै नदेखेको मान्छेले शिक्षा विधेयक लेख्दा समस्या आएको बताइन् । ‘हाम्रो यो आन्दोलन रहर होइन बाध्यता हो । हामीले आफ्ना मागका विषयमा सरकार सँग पटकपटक सम्झौता गरेका छौ । हामीले ५१ बुँदे, ३१ बुँदे सम्झौता गरेका छौ’ उनले भनिन् ‘यो शिक्षा ऐन कसले लेख्छ । सायद यो कक्षा कोठा नै नदेखेको मान्छेले लेखेको हो कि भन्ने लागेको छ ।’ उनले स्वतस्फुर्त रुपमा शिक्षकहरू आफ्नै खर्चमा आन्दोलनमा होमिएको बताइन् ।

शिक्षा विधेयकको विरोधमा नेपाल शिक्षक महासङ्घको अगुवाइमा बुधबार देखि काठमाडौँ शिक्षकहरूको आन्दोलन सुरु भएको छ । आन्दोलनमा सहभागि हुन बिहीबार देखि शिक्षकहरू काठमाण्डौं जाने क्रम जारी रहेको छ ।

बुधबार मात्रै अत्तरिया बसपार्कबाट ७ वटा बसहरूमा शिक्षकहरू आन्दोलनका लागि काठमाण्डौं हिँडेका थिए । महासङ्घले विभिन्न १८ बुँदे असहमति राखेर आन्दोलनको घोषणा गरेको छ । जसमा सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिका अन्तर्गत नबस्ने सहितका माग छन् ।

ती माग पुरा नभएसम्म आन्दोलन नरोकिने महासङ्घको भनाइ छ । सरकारले गत भदौ २७ गते विद्यालय शिक्षा सम्बन्धी विधेयक प्रतिनिधिसभामा दर्ता गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.