बैतडी– बैतडीमा मोटरसाइकल दुर्घटना हुँदा दार्चुलाको शैल्यशिखर नगरपालिका–२ का वडा सचिव खेमराज कपाडीको मृत्यु भएको छ । भिरबाट मोटरसाइकल खस्दा वडा सचिव कपाडीको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।


बैतडी जिल्ला दोगडाकेदार गाउपालिका–५ सल्सेनाको भिरमा मोटरसाइकल खस्दा आइतबारदेखि बेपत्ता भएका कपाडीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त कार्यालय प्रमुख योगेश खत्रीले बताए । डडेल्धुराको एक कार्यालयमा तालिम दिन जान लागेका वडा सचिव कपाडी तालिममा सहभागी नभई सम्पर्कविहीन भएपछि आइतबार राती ९ बजे मात्र प्रहरीलाई खोजी सुरु गरेको थियो ।

खोजी गर्दै जाँदा से ४ प ७५ नम्बरको मोटरसाइकल सडकबाट २ सय मिटर तल भिरमा भेटिएको थियो । कपडीको शव १ सय मिटर तल भेटिएको प्रहरीले जनाएको छ ।

निमित्त कार्यालय प्रमुख खत्रीले भने, ‘हिजोबाट हराएका कर्मचारीको शव अहिले भिरमा मोटरसाइकलसहित भेटाएका छौँ, मुचुल्काका लागि इलाका प्रहरी कार्यालय पाटनबाट टोली खटिएको छ ।’ कपाडीको मोटरसाइकललाई ठूलो गाडीले ठक्कर दिएको आशंका गरिएको छ । घटनाका बिषयमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।