दार्चुला – भारतबाट अतिक्रमित नेपाली भूमि कालापानी क्षेत्रमा भेडा चराउन गएका नेपाली युवाको मृत्यु भएको छ । भेडाबाख्रा चराउन गएका १९ वर्षीय गोठाला विनोद ठगुन्नाको मंगलबार ढुंगा लागेर मृत्यु भएको आफन्तले जनाएका छन् ।

नौगाड गाउँपालिका–३ दल्लेकका स्थानीय विनोदको ढुंगा लागेर मृत्यु भएको भए पनि मृतकको शरीरमा कुनै चोटपटक नभएको आफन्तजनले बताएका छन् । स्थानीय मानसिंह मन्यालका अनुसार मृतकका बुबा अंगविरसिंह ठगुन्नालगायत आफन्तहरू बुधबार घटनास्थलतर्फ गएका छन् । उनले घटनास्थलको फोटो प्राप्त भएको र मृतकको शरीरमा कुनै प्रकारको चोटपटक देखिएको छैन ।


ढुंगा लागेर विनोदको मृत्यु भएको खबर आफन्तलाई भारतीय पक्षले बताएका छन् । मृतक विनोदले एक वर्षदेखि एक जना भारतीय व्यवसायीको दुई सयभन्दा बढी भेडाबाख्राहरू चराउने कार्य गर्दै आएका थिए ।

कालापानीभन्दा माथिल्लो क्षेत्रमा भेडाबाख्रा चराउन गएको अवस्थामा घटना भएको आफन्तले बताएका छन् । भेडाबाख्रा चराउन लेकाली फाँटमा गएका विनोद मंगलबार साँझसम्म बासस्थानमा नफर्किएपछि अन्य भेडाबाख्रा चराउनेहरूले खोजी गरेका थिए ।
कालापानीमा रहेका एसएसबी र आईटीबीपीका सुरक्षाकर्मीहरूको सहयोगमा उनको खोजी गरिएको थियो । मंगलबार राति २ बजे विनोद मृत भेटिएको खबर आफन्तलाई भारतीय पक्षले जानकारी गराएका थिए ।
घटनाबारे बुझिरहेको प्रहरी कार्यालय दार्चुलाका डीएसपी तर्कराज पाण्डेयले बताए ।