अत्तरिया – पुष ७ गते कैलालीको गोदावरी नगरपालिका – २ मा रहेको साना किसान कृषि सहकारीको लकर तोडेर चोरी भयो । सहकारीको झ्यालबाट भित्र पसेको चोरले ५ लाख ६८ हजार रुपैयाँ मात्रै चोरेन बैंकको सुरक्षाका लागि जडान गरको क्यामेराको डिभाइस नै लगेर गयो ।
चोरले २ झ्याल, १ ढोका संगै निकै बलियो भनिएको ७ क्युन्टलको लकर टुटाएर पैसा चोरेको थियो । राती चोरी भएको अनुमान गरिएको उक्त घटना बिहान मात्रै सहकारीले थाहा पाएको थियो । बिहानै प्रहरीले पनि घटनाको मुचुल्का उठायो र, छिटै चोर समाउने आश्वासन दियो । तर, घटना घटेको २ महिना बितिसक्दा पनि अहिले सम्म चोर पक्राउ गर्न प्रहरी असफल भएको छ ।


सहकारीका मुख्य प्रबन्धक गोरख खत्रीले प्रहरीले खोजी जारी राखेको बताउने गरेको बताए । ‘प्रहरीलाई बारम्बार झकझक्याउने काम गरेका छौ । प्रहरीले खोजी जारी छ मात्रै भन्छन’ उनले भने ।
सहकारीमा चोरी भएको घटना अघि अत्तरियामा दिनदहाडै राजमार्गमै गालिकाण्ड भयो ।

पुष ३ गते अत्तरियाको पुर्व रोडमा सशस्त्र प्रहरी बाहिनी अगाडी लुटेराले गोली प्रहार गरेर सुनचाँदी व्यवसायी विकास सुनारमाथि लुटपाट गरे । लुटेराले मोटरसाइकलमा साँझ घर जाँदै गर्दा पछाडीबाट गोली प्रहरा गरेर उनीसंग भएका सुनका गरगहना लुगेका थिए । ति लुटेरले प्रहरीकै घेरामा रहेको क्षेत्रमा आफ्नो योजनालाई अन्जाम दिएका थिए । उक्त लुटपाटको घटनामा २ जना संलग्न भएको भनिएपनि अहिले सम्म प्रहरीले कसैलाई पनि पक्राउ गर्न सकेको छैन् ।
अत्तरियामा पछिल्लो समय भएका दुई ठूला लुटपाट र चोरीका घटनामा संलग्न पक्राउ नपर्दा अत्तरियाको सुरक्षा व्यवस्था माथि प्रश्न उठ्न थालेका छन । अत्तरिया बजारमा भएका चोरी, लुटपाट, लागुऔधष प्रयोगकर्तालाई केही हदसम्म भएपनि पक्राउ गर्न प्रहरी सफल भएपनि ठूला चोरी लुटपाटका घटनामा भने प्रहरी निरही बनेको छ ।

सुनारमाथि भएको लुटपाटको घटना पछि अहिले उनी व्यवसायबाटै विस्थापित भएका छन । अत्तरियामा उनले संचालन गरेको सुनको पसल २ महिना देखि बन्द अवस्थामै रहेको छ । उनका वुवा एलबी सुनारले गोलिकाण्डपछि त्रासका कारण पसल संचालन गर्न नसकिएको बताए ।
‘मैले घोडाघोडीमा पनि पसल संचालन गरेको छु । छोराको लागि अत्तरियामा पसल संचालन गरेको थिए । अहिले छोरो राम्ररी रिकभर हुन सकेको छैन । उपचारकै क्रममा काठमाण्डौंमा रहेको छ’ उनले भने ‘यता पसल हेर्ने मान्छे नभएपछि पसल बिक्री गरिरहेको छु ।’ उनले पसलमा भएका सुनचाँदीका गहना लुटपाट भएकाले पसल संचालन गर्ने अवस्थापनि नरहेको बताए । उनले घटनाको बारेमा प्रहरीलाई सोध्दा लुटेराको खोजि जारी रहेको बताउने गरेको बताए ।
इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायक उपरिक्षक (डिएसपी) गणेश बरालले दुवै घटनाको अनुसन्धान भइरहेको बताएका छन । उनले प्रहरीले यी दुई घटनालाई उच्च प्राथमिकतामा राखेर अनुसन्धान गरिरहेको बताए । ‘हामीले यस घटनालाई उच्च प्राथमिकतामा राखेर अनुसन्धान गरिरहेका छौ । अनुसन्धानमा इलाका प्रहरी कार्यालय संगै प्रदेश प्रहरीको टोलिले पनि अनुसन्धान गरिरहेको छ’ उनले भने ‘अनुसन्धान धेरै अगाडी बढिसकेको छ । अहिले सबै कुरा सार्वजनिक गर्न मिल्दैन ।’
















