खाेज्नुहाेस

गोदावरीमा कार्यरत फाजिल कर्मचारी अन्योलमा

Image

अत्तरिया –  कैलालीको गोदावरी नगरपालिकामा कार्यरत फाजिलका कर्मचारीले कहाँबाट सेवा सुविधा पाउने भन्ने बारेमा टुङ्गो नलाग्दा अन्योलमा परेका छन । संघिय सरकारले तलब नपठाउने पत्र नगरपालिकामा पठाएपछि हाल फाजिलमा कार्यरत रहेका ३९ कर्मचारी अन्योलमा परेका हुन । नगरपालिकाले नै दोहोरो सहमति गरेर ति कर्मचारीहरु नगरपालिकामा आएका भएपनि अहिले नगरपालिकाबाट पनि सेवा सुबिधा उपलब्ध गराउने, नगराउने बारेमा निर्णय हुन सकेको छैन ।

गोदावरीमा रहेका ३९ जना फाजिलका कार्मचारी सबै स्वास्थ्य शाखामा कार्यरत रहेका छन । स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले फाजिलका कर्मचारी संगै स्वास्थ्य शाखाका सबै कर्मचारीले विगतदेखि नै नियमित सेवा सुबिधा नपाउने गरेको बताए । ‘स्वास्थ्यका कर्मचारीले मासिक रुपमा तलब समेत पाउने गरेका छैनन् । संघबाट दरबन्दी अनुसारको रकम मात्रै आउने गरेको छ । यहाँ दरबन्दी भन्दा बढी कर्मचारी छन । जसले गर्दा तलबका लागि ५/६ महिना कुर्नुपर्ने अवस्था रहेको छ’ उनले भने ‘स्थानीय सरकारले नै हामी तलब भत्ता खुवाउछौ भनेर फाजिलका कर्मचारी बढेका हुन ।’

attariya hospital

चालु आर्थिक बर्ष सुरु भएपछि हालसम्म फाजिलका कर्मचारीले सेवा सुबिधा पाएका छैनन् । फाजिलमा कार्यरत एक कर्मचारीले नगरपालिकामा आफूहरुले अन्य कर्मचारी जस्तै काम गरिरहेको भएपनि सेवा सुबिधामा भने विभेद गरिएको बताए । उनले सुुरुमा नगरपालिकाले नै सेवा सुविधा दिने भनेर ल्याएको भएपनि अहिले पन्छिन लागेको बताए ।

navjiwan hospital

‘लोकसेवाबाट पास भएर सरकारी सेवामा कार्यरत रहेका भएपनि फाजिलका नाममा विभेद छ’ ति कर्मचारीले भने ‘अहिले नियमित पाउने तलब संगै अन्य भत्ता पाउने कुरामा पनि अन्योल छ ।’

नगरपालिकाको स्वास्थ्य शाखामा फाजिलका कर्मचारी धेरै हुँदा गत बर्ष पनि समयमा तलब सुविधा पाउने गरेका थिएनन् । यस बर्ष तलब सुबिधा कताबाट पाउने भन्ने बारेमा नै टुङ्गो नलाग्दा फाजिलका कर्मचारीको मनोबल घटेको छ । गत बर्ष सम्म संघिय सरकारले नै फाजिलका कर्मचारीलाई तलब भत्ता पठाउँदै आएको भएपनि चालु आर्थिक बर्षदेखि भने फाजिलका कर्मचारीका लागि रकम नपठाउने पत्र आएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त कुमार खत्रीले बताए ।

उनले नगरपालिकाबाट दिने सेवा सुबिधाका बारेमा भने अझै निर्णय नभएको बताए । ‘दोहोरो सहमतिका आधारमा कर्मचारी बढेका हुन । अहिले सरकारले पनि उनीहरुको तलब नपठाउने भनेको छ’ उनले भने ‘संघबाट रकम नपठाउने भनिएपछि अब फाजिलका कर्मचारीका हकमा के गर्ने भन्ने टुङ्गो लाग्न बाँकी छ ।’ उनले २/३ दिन भित्रमा बैठक बसेर यसको बारेमा निर्णय गर्ने बताए ।

फाजिलमा राखिँदा कर्मचारीको कार्यसम्पादन देखि बढुवा, ग्रेडवृद्धि लगायतका सेवा सुविधा र वृत्ति विकासबाट पनि वञ्चित हुने चिन्ता कर्मचारीहरुमा छ । फाजिल कर्मचारीलाई नगरपालिकाले नै सेवा सुविधा दिने अवस्था आएमा त्यसले नगरपालिकाको आर्थिक भार बढ्ने देखिन्छ ।

सरकारले नै दरबन्दी कटौती गर्दा वा दरबन्दी भएको भन्दा अर्को ठाउँमा काम गर्दा फाजिल कर्मचारीको संख्या बढेको छ । दरबन्दी बिनाका यस्ता कर्मचारी राख्न नगरपालिकाले नै सम्झौता गरेको भएपनि त्यसले नगरपालिकालाई नै ब्ययभार थपिएको छ ।