अत्तरिया – कैलालीको अत्तरियामा ६ बर्ष अगाडी निर्माण गर्ने भनेर शिलान्यास गरिएको कोल्ड स्टोरले अझै संचालनमा आउन सकेको छैन । कृषि उपज थोक बजारमा फाउण्डेसन तयार गरिएको भएपनि आवश्यक उपकरण जडान हुन नसक्दा कोल्ड स्टोर संचालनमा आउन नसकेको हो ।
उक्त स्थानमा २०७४ सालमा निजी क्षेत्रको पहलमा कोल्ड स्टोर निर्माण गर्ने भनेर तत्कालिन माओवादीका नेता लेखराज भट्टले शिलान्यास गरेका थिए । पछि संघिय सरकार मातहतमा रहेको कृषि उपज थोक बजारमा निजी क्षेत्रले लगानी लगाउन नमिल्ने भएपछि कृषि बजार व्यवस्थापन समिति र बिभिन्न संघसस्थाको सयुक्त लगानीमा निर्माण प्रक्रिया अगाडी बढाइएको थियो ।

समिति, स्थानीय सरकार र संघसस्थाको सहयोगमा अगाडी बढाइएको कोल्ड स्टोरका लागि आवश्यक रकम अपुग हुँदा केही समय अलपत्र अवस्थामा रहेको कोल्ड स्टोर हाल ठेकेदारले काम नगर्दा निर्माण सम्पन्न हुन सकेको छैन । ३ बर्ष अगाडी नै कोल्ड स्टोरको बाहिरी संरचना निर्माण गरिएको भएपनि आवश्यक उपकरण जडान गरिएका छैनन् ।
कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष नन्दलाल भट्टले संघिय सरकार मातहतमा रहेको कृषि उपज थोक बजारमा निर्माण गर्न लागिएको कोल्ड स्टोर सरकारकै बेवास्ताका कारण अलपत्र परेको बताए । ‘यसको निर्माण गर्नका लागि न स्थानीय सरकार, न प्रदेश सरकार, संघिय सरकारले हेरेका छन’ उनले भने ‘३ बर्ष अगाडी कोल्ड स्टोरमा उपकरण जडान गर्ने भनेर प्रदेश सरकारले ठेक्का सम्झौता गरेपनि ठेकेदारले पनि काम गरेको छैन ।’

साढे ३ सय मेट्रिक टन क्षमताको कोल्ड स्टोर निर्माणका लागि हाल बाहिरी संरचना निर्माण सम्पन्न गरिएको छ । ६ बर्ष अगाडी १ करोड ८६ लाखमा कोल्डस्टोर निर्माण गरिने भनिएपनि निर्माणमा ढिलाई हुँदा लागत पनि बढेको छ । १ करोड २२ लाख लगानी लागिसकेको कोल्डस्टोरमा उपकरण जडान गर्न ३ बर्ष अघि ८२ लाखमा ठेक्का सम्झौता भएको थियो ।
अध्यक्ष भट्टले कोल्ड स्टोर सम्पन्न गर्नको लागि प्रदेश सरकार, संघिय सरकार र स्थानीय सरकारलाई पटक–पटक घचघच्याएको भएपनि सुनुवाई नभएको बताए । उनले स्थानीय सरकारले कोल्ड स्टोर स्थानीय सरकारलाई नै हस्तान्तरण गर्न भनेको बताए । ‘यो संघिय सरकार मातहतमा छ । यसलाई संघिय सरकारले नगरपालिकालाई हस्तान्तरण गरेमा हामीलाई आपत्ती छैन’ उनले भने ‘तर, बिधिवत रुपमा यसलाई अगाडी बढाउनु पर्छ ।’
कृषि बजार व्यवस्थापन समितिका पदेन सदस्य समेत रहेको गोदावरी नगरपालिका – १ का वडा सदस्य गोपाल दत्त भट्टले कोल्डस्टोर संचालनका लागि औपचारीक रुपमा छलफल नभएपनि यसलाई संचालनमा ल्याउनका लागि सबैले लाग्न आवश्यक भएको बताए ।
‘कोल्ड स्टोर निर्माणका लागि बिभिन्न संघसस्थाले हात हालेपछि काम नभएको भन्ने कुरा आएको छ’ उनले भने ‘हामीले यसको खोजी गर्ने भनेका छौ । किन यो अलपत्र प¥यो यसका बारेमा हामी सबैले लाग्न आवश्यक छ ।’ उनले कोल्ड स्टोर नगरपालिका मातहतमा ल्याउने बिषयमा आधिकारीक रुपमा प्रस्ताव नगरिएको बताए ।
कृषि उपज थोक बजार केन्द्रमा हाल भारत लगायत सुदूरपश्चिमका ९ वटै जिल्लाबाट तरकारी आउँने र केन्द्रबाट स्थानीय बजार संगै काठमाण्डौ लगायत मौसम अनुसार शुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा तरकारी पठाईने गरिएको छ । प्रदेशकै केन्द्रमा रहेको यो बजारमा कोल्ड स्टोर नहुँदा तरकारी तथा फलफुल बिग्रने गरेका कारण किसान तथा व्यवसायी ठूलो आर्थिक नोक्सानी बेहोर्दै आएका छन ।

















