अत्तरिया – सामाजिक संजालमा भारतबाट बच्चा चोर्ने गिरोह भित्रिएको खबर फैलिने क्रम रोकिएको छैन । प्रहरीले हाल सम्म कुनै यस्तो गिरोह नेपालमा संक्रिय रहेको पुष्टि नभएको र, यस्ता भ्रमपूर्ण प्रचार गर्नेलाई कारवाही गर्ने समेत जनाइसकेको छ । तर, पनि यस्ता सामग्री समाजिक संजालमा फैलिने क्रम रोकिएको छैन ।
सामाजिक संजालमा भारतबाट माग्नेको भेषमा, झुत्रो लुगा लगाएकाहरु बच्चा चोर्नमा संक्रिय रहेको दाबी गरिएको छ । जुन अफवाहको सिकार अहिले बर्षैदेखि सडकमा मागेर खानेहरु पर्न थालेका छन ।

यस्तै घटनाको सिकार मंगलबार कैलालीको अत्तरिया बसपार्कमा मानसिक सन्तुलन गुमाएकी महिला परेकी छिन । ठाउँ ठाउँमा मागेर खाने र सडकमै बस्दै आएकी ति महिलालाई स्थानीयले बसपार्कमा देखेपछि बच्चा चोरको आंशकामा लछाड पछाड गर्दै प्रहरीलाई बुझाए ।

स्थानीयले कुटपिट गरी इलाका प्रहरी कार्यालय मालाखेतीमा बुझाइएकी ति महिला बच्चा चोरीमा संलग्न भएको कुनै तथ्य फेला नपरेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी रविन्द्रराज पाण्डेले स्थानीयले संकाकै भरमा ति महिलालाई कुटपिट गरी प्रहरीको जिम्मा लगाएको बताए । ‘स्थानीयले गरिब झुत्रेझाम्रे दुःखी देखेपछि पिटपाट गरेर प्रहरीको जिम्मा लगाए । बच्चा चोरेको कुनै प्रमाण भेटिएको छैन’ उनले भने ‘सामाजमा फैलिएको हल्लाका भरमा दुःखी, गरिब, सडकमा मागेर खानेले दुःख पाए ।’
उनले ति महिलाले आफ्नो नाम महालक्ष्मी बिक बताए पनि स्पष्ट बोली बुझ्न नसकिएको बताए । ‘बोलेको कुरा राम्ररी बुझिएको छैन’ उनले भने ‘ति महिला आफ्नो घर परिवारको बारेमा समेत भन्न सक्ने अवस्थामा छैनन् । ठेगाना सोधेपनि भन्न सकेनन् ।’
प्रहरीले ति महिलालाई हाल अत्तरियामै रहेको महिला तथा बालबालिका सेभ हाउसमा राखेको छ । सेभ हाउसकी अध्यक्ष जानकी मलासीले महालक्ष्मी नाम बताउने ति महिलालाई आफूले धेरै पटक दिपायलमा देखेको बताईन् । ‘गत बर्ष मैले यी महिलालाई दिपायलमा देखेको थिए । केही दिन अगाडी उनलाई धनगढीमा पनि देखेको थिए’ उनले भनीन् ‘यिनी सडकमा मागेर खाने गरेकी छिन ।’ उनले ति महिलालाई अब सेभ हाउसमै राखेर बालकालिकाकै हेरचाहमा लगाउने बताईन् ।
पछिल्लो समय सामाजिक संजालमा भारतबाट बच्चा चोर नेपालमा भित्रिएको भनिएपनि प्रहरीले भने अहिले सम्म यस्ता व्यक्ति फेला नपरेको जनाएको छ । यद्दपी सामाजिक संजालमा भने यस्ता अफवाह फैलाउने क्रम रोकिएको छैन । जसले गर्दा बर्षौदेखि सडकमै जिविको पार्जन गर्ने मानिस परेका छन ।

















