अत्तरिया – कैलालीको गोदावरी नगरपालिकामा सुदूरपश्चिममै पहिलो पटक बर्गिकरण सहितको परिचय पत्र वितरण सुरु गरिएको छ । शनिबार एक कार्यक्रमका बिच गोदावरी नगरपालिका – ३ का २६ जना किसानलाई बर्गिकरण सहितको परिचय पत्र वितरण गरेर उक्त कामको सुभारम्भ गरिएको हो ।
उक्त कार्यक्रममा प्रमुख अतिथि रहेका गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टले परिचय पत्र वितरण गरेका थिए । गोदावरी नगरपालिकाको आयोजना, केयर नेपाल र राष्ट्रिय कृषक समूह महासंघ नेपालको सहकार्यमा संचालित कार्यक्रम अन्तरगत गोदावरीमा किसानहरुलाई परिचय पत्र वितरण सुरु गरिएको छ ।

जस अन्तरगत किसानहरुलाई मापदण्डका आधारमा रातो, सेतो, पहेलो र निलो रंगको परिचय पत्र वितरण गरिने छ । नगरप्रमुख भट्टले बर्गिकरण सहितको परिचय पत्रले नगरपालिकाबाट उपलब्ध गराइने कृषिसंग सम्बन्धित सेवा सुविधालाई पहिचान पत्रको आधारमा व्यवस्थित तरिकाले अगाडी बढाउन सहज हुने बताए । उनले आफूहरुले चुनावको बेलामा बोलेका कुरा पुरा गर्ने क्रममा बिभिन्न संघसस्थाहरुको सहकार्यमा परिचयपत्र वितरण गर्न लागिएको बताए ।

उनले नगरपालिकाको वडा नम्बर ३ मा १ हजार ४ सय ४३ जनालाई बर्गिकरण सहितको परिचय पत्र वितरण गरिने बताए । ‘आज यो कामको सुभारम्भ भएको छ । बर्गिकरण भएर परिचय पत्र तयार भएका किसानहरुले अब वडा कार्यालयबाट यो कार्ड पाउनु हुनेछ’ उनले भने ‘गोदावरी नगरपालिकामा १५ हजार ६ सय ६६ जनाले यो कार्ड पाउने छन ।’ उनले बर्गिकरणका आधारमा परिचय पत्र वितरण गरिएपछि नगरपालिकाबाट कृषिका कार्यक्रम संचालन गर्न सहज हुने बताए ।
राष्ट्रिय कृषक समुह महासंघ नेपालका केन्द्रिय अध्यक्ष नवराज बस्नेतले धेरै प्रयास गर्दा पनि किसानहरुका समस्य ज्यूँ का त्युँ रहेपछि बर्गिकरण सहितको परिचय पत्र वितरणको योजना अघि सारिएको बताए ।
उनले हाल यो कार्यक्रम देश भरीका १३ स्थानीय तहमा संचालनमा भएको र जसमध्ये सुदूरपश्चिममा कैलालीको गोदावरी नगरपालिका र कञ्चनपुरको कृष्णपुर नगरपालिकामा कार्यक्रम संचालनमा रहेको बताए । उनले बर्गिकरण सहितको परिचय पत्र वितरणको काम भने सुदूरपश्चिममै पहिलो पटक गोदावरी नगरपालिकाबाट भएको बताए ।

‘राज्यले सेवा सुविधा दिदाँ हुनेखाने किसानले मात्रै सेवा सुविधा पाउन थालेपछि हामीले सबै किसानलाई एउटै डालोमा हाल्नुभन्दा बर्गिकरण सहितको परिचय पत्र दिने अवधारणा अगाडी सारेका हौ’ उनले भने ‘हाल स्थानीय तह संग समन्वय गरेर यो काम गरिरहेका छौ ।’ उनले अब कार्डकै आधारमा किसानलाई दिने सेवा सुबिधाको कार्यविधि बनाएर किसानलाई सहयोग गरिने बताए ।
राष्ट्रिय कृषक समुह महासंघ नेपालका सुदूरपश्चिम अध्यक्ष प्रकाश थापाले भूमिहिन, सिमान्त, मजदुर किसानलाई रातो, साना किसानलाई सेतो, मध्यम किसानलाई पहेलो र ठूला किसानलाई निलो परिचय पत्र वितरण गरिएको बताए । उनले रातो परिचय पत्र पाउने किसानको लागि भूमिको स्वामित्व नभएको वा ०.१ हेक्टर भन्दा कम जमिन भएको वा खेतिगर्ने वा कृषि मजदुरको रुपमा काम गर्ने गरी जिविकोपार्जन गर्ने र बार्षिक अधिकतम १ लाख सम्म कृषि आम्दानी भएको हुनुपर्ने मापदण्ड तोकिएको बताए ।

त्यस्तै सेतो परिचय पत्र पाउने किसानको लागि चार जनाको परिवारलाई जीविकोपार्जन गर्नुपग्ने कृषि व्यवसाय वा ०.५ हेक्टर सम्म खेती योग्य जमिन भएको र १ लाख देखि ५ लाख सम्म कृषि आम्दानी भएको मापदण्ड तोकिएको छ ।
पहेलो परिचय पत्र पाउने किसानको लागि चार जना भन्दा बढिको परिवारलाई जीविकोपार्जन गरी थप आम्दानी गर्ने, तोकिएको मापदण्ड बमोजिमको व्यवसाय वा ०.५ देखि २ हेक्टर सम्म कृषि योग्य भूमि रहेका वा खेती गर्ने र ५ देखि १५ लाख सम्म बार्षिक कृषि आम्दानी भएको हुनुपर्नेै मापदण्ड तोकिएको छ ।
त्यस्तै निलो परिचय पत्र पाउने किसानका लागि २ हेक्टर भन्दा माथि कानुन बमोजिम कृषि भूमि वा खेती गर्ने र बार्षिक १५ देखि ५० लाख सम्म बार्षिक कृषि आम्दानी भएको हुनुपर्ने मापदण्ड तोकिएको राष्ट्रिय कृषक समुह महासंघ नेपालका सुदूरपश्चिम अध्यक्ष थापाले बताए ।
उनले बर्गिकरणका आधारमा रातो, सेतो, पहेलो र निलो परिचय पत्र भएका किसानहरुलाई क्रमश १०० प्रतिशत, ७५ प्रतिशत, ५० प्रतिशत र २५ प्रतिशत अनुदान दिने मापदण्ड बनाइएको बताए ।
गोदावरी नगरपालिकामा किसान परिचय पत्र वितरणका लागि राष्ट्रिय कृषक समुह महासंघ नेपाल र नगपालिका बिच गत बर्षको फागुन २५ गते हस्ताक्षर भएको थियो ।

नगरपालिकाको कृषि शाखा मार्फत संचालन हुने उक्त कार्यक्रमका लागि नगरपालिको कार्यपालिकाबाट किसान परिचयपत्र वितरण एवं सेवा सुविधाको उपलब्धता सम्बन्धि कार्यविधि २०७८ निर्माण गरिएको छ ।

















