आशिष बहादुर सिंह/बझाङ – बेमौसमी वर्षासँगै आएको बाढीपहिरोका कारण सडक सञ्जाल तहसनहस भएको व्यापारीले मौका छोप्दा बझाङमा कालोबजारी मौलाएको छ । खाना पकाउने ग्यास, पेट्रोल, डिजेलजस्ता अत्यावश्यक सामानको मूल्य बढाएर लुकाएर बेच्न थालिएको छ । दैनिक उपभोग्य सामानको मूल्यमा पनि अस्वाभाविक वृद्धि भएको छ ।
केही दिनअघिसम्म प्रतिसिलिन्डर १ हजार ६ सय ५० रुपैयाँमा बिक्री भइरहेको एलपी ग्यासको मूल्य बढाएर प्रतिसिलिन्डर ४ हजार सम्ममा बेच्ने गरिएको उपभोक्ताले गुनासो गरेका छन् । ग्यासको कृत्रिम अभाव भएको हो ।

अघिल्लो साता प्रतिलिटर १ सय ४० मा बिक्री हुने गरेको पेट्रोलको मूल्य पनि १ सय ८० रुपैयाँ पुगेको छ । प्रतिलिटर १ सयमा बिक्री भइरहेको डिजेलको मूल्य बढाएर १ सय ५० रुपैयाँ पु¥याइएको स्थानिय दिपक जोशीले बताए । उनले विपद्को फाइदा उठाउँदै कालोबजारी गर्नेहरूलाई स्थानीय तह र जिल्ला प्रशासनले कारबाही गर्नुपर्नेमा चासो नदिएको आरोप लगाएका छन् ।
यातायात बन्द भएको फाइदा उठाउँदै व्यापारीहरूले खाद्यान्न लगायत दैनिक उपभोग्य सामानको मूल्यमा पनि वृद्धि गरेका छन् । चामल, दाल, खानेतेल, चिनी, बिस्कुट, चाउचाउको मूल्यमा पनि अस्वाभाविक वृद्धि भएको छ । ‘बाढीपहिरो गएपछि बजारमा सबै सामानको मूल्य बढेको छ । हप्ता दिनमै ५० रुपैयाँ पर्ने एक किलो चामलको मुल्य ६० रुपैयाँ पु¥याइएको छ । १ सय रुपैयाँमा पाइने गरेको आधा लिटर भटमासको तेललाई अहिले १ सय ५० रुपैयाँ तिर्नुपर्छ,’ सुर्मा घर भएर सदरमुकाममा बस्दै आएकी जानकी बोहराले बताईन् । सदरमुकाम मात्रै नभएर जयपृथ्वी राजमार्गसँग जोडिएका सबैजसो बजार र ग्रामीण भेगका पसलमा पनि दैनिक उपभोग्य बस्तुको मूल्य अत्यधिक बढेको स्थानीयको भनाइ छ । कतिपय व्यापारीहरूले कृत्रिम अभाव देखाएर सर्वसाधारणलाई सामान नदिने तर आफूले चिनेजानेकालाई बढी मूल्य लिएर सुटुक्क बिक्री गर्दै आएका उनीहरूको गुनासो छ ।

बाढीपहिरोका कारण बझाङलाई अन्य जिल्लासँग जोड्ने एक मात्र जयपृथ्वी राजमार्ग अवरुद्ध छ भने अन्य सबैजसो ग्रामीण सडक पनि ठप्प छन् । सदरमुकाम चैनपुरदेखि तमैलसम्म र छविस पाथीभेरा गाउँपालिकाको मालुमेलादेखि नारुगौडासम्म जयपृथ्वी राजमार्गको अवरोध हटाएपछि बुधबारबाट यातायात सञ्चालन भएको छ । यहाँ पनि जिपले मनपरी भाडा असुल्ने गरेको यात्रुले गुनासो गरेका छन् । चैनपुरदेखि तमैलसम्म ११ किलोमिटरको प्रशासनले तोकेको भाडा ८० रुपैयाँ हो,’ मष्टा गाउँपालिकाका रामचन्द्र रोकायाले भने, ‘अहिले २ सय रुपैयाँ लिइरहेका छन् । मालुमेलादेखि नारुगौडासम्म १५ किलोमिटरको भाडा ३ सय रुपैयाँ लिइरहेका छन् । विपद्मा परेका यात्रुहरू खुलेयाम लुटिइरहेको बेलामा यसलाई रोक्न कसैले पनि ध्यान दिएको देखिँदैन ।’ उनले कतिपय वृद्ध, बिरामी र बालबच्चा बोकेका यात्रुहरू महँगो भाडा तिर्न नसकेर सकिनसकी हिँडेरै गन्तव्यमा पुगिरहेको सुनाए ।
जयपृथ्वी राजमार्गको दक्षिणी खण्डमा भएको अवरोध हटाएपछि मंगलबार केदारस्युँको नारुगौडाबाट जिल्ला बाहिर बसहरू सञ्चालन हुन थालेका यो रुटमा सञ्चालन भएका बसहरूले पनि मनपरी भाडा लिइरहेका यात्रुहरू बताउँछन्
विपद्ममा परेका नागरिकहरू कालोबजारी गर्नेहरूबाट चौतर्फी लुटिइरहेको भए पनि यसलाई नियन्त्रण गर्न सक्रिय हुनुपर्ने जनप्रतिनिधि र प्रशासनले मौन रहनु आश्चर्यजनक भएको नागरिक समाजका अगुवा धर्मजंङबहादुर सिंहले बताए । ‘राज्य नागरिकप्रति कति जिम्मेवार छ भन्ने कुरा विपद्का बेला देखिने हो तर बझाङमा भइरहेको कालोबजारी देखे पनि नदेखे झैं गरेर सबै सुतेका छन् । जनप्रतिनिधि, नेता र स्थानिय प्रशासनको यो मौनता अचम्मलाग्दो छ,’ उनले भने ।
प्रमुख जिल्ला अधिकारी मोहन अधिकारी भने ग्यास लगायत दैनिक उपभोग्य सामानमा भइरहेको कालोबजारी नियन्त्रणका लागि प्रयास गर्ने बताए पनि यातायात व्यवसायीले गरेको भाडा वृद्धिमा हस्तक्षेप गर्न नसकिने बताउँछन् । ‘बढी भाडा लिइएको गुनासो हामीसम्म पनि आइरहेको छ । यसो नगर्नुस् भन्दा तेल छैन, हामी गाडी चलाउँदैनौं भन्छन्,’ उनले भने, ‘कानुनी हिसाबले बढी भाडा लिनु अनुचित भए पनि गाडी नै नचल्नु भन्दा ठीकै छ भनेर चुप लाग्नु पर्ने अवस्था छ ।’ उनले दैनिक उपभोग्य सामानमा भइरहेको कालोबजारीको अनुगमन गरेर गलत गर्नेलाई कारबाही गरिने बताए ।

















