अत्तरिया – कैलाली र डडेल्धुराका विभिन्न स्थानबाट प्रहरीले लागू औषध खैरो हेरोइन सहित ६ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गौरीगंगा नगरपालिका–१ चनौरा दक्षिण टोलबाट बुधबार दिउँसो सोही स्थानका २४ वर्षीय रबिन्द्र धामीलाई ३ ग्राम ३ सय १० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ र नगद ११ हजार ७ सय ५० रुपैयाँसहित पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ ।

यस्तै, धनगढी उपमहानगरपालिका–३ मिलनचोकबाट बुधबार राति २४० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा कञ्चनपुरको पुनर्वास नगरपालिका–४ का १८ वर्षीय एक किशोर र पुनर्वास नगरपालिका–११ अमरबस्तीकी २२ वर्षीया सृजना चौधरी रहेका छन् । उनीहरू लागूऔषध सेवन गरिरहेको अवस्थामा प्रहरी चौकी त्रिनगरबाट खटिएको टोलीले चेकजाँच गर्दा उक्त पदार्थ फेला पारेको प्रहरीले जनाएको छ ।

उता, डडेल्धुराको अमरगढी नगरपालिका–१ स्याउले चेकपोष्टबाट बुधबार राति १६० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित तीन जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा कञ्चनपुरको बेदकोट नगरपालिका–७ का २६ वर्षीय दिपक खुना, कैलालीको चुरे गाउँपालिका–४ का २५ वर्षीय निराजन साह र २४ वर्षीय लक्ष्मण अधिकारी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले सुप्रप्र ०१–००१ क १६९० नम्बरको ट्रकमा सवार उनीहरूलाई शंकाका आधारमा चेकजाँच गर्दा लागूऔषध फेला पारेपछि नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीले तीनै घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।


















