अत्तरिया – कैलाली, कञ्चनपुर र बझाङका विभिन्न स्थानबाट प्रहरीले लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ । शुक्रबार गरिएको छुट्टाछुट्टै कारबाहीमा खैरो हेरोइन र चरेस बरामद गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार टिकापुर नगरपालिका–९ खक्रौलाबाट १ ग्राम ४०० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थसहित टिकापुर नगरपालिका–१ एकतानगर बस्ने १९ वर्षीय नरेश परियार पक्राउ परेका छन् । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको टोलीले शंका लागेर चेकजाँच गर्दा उनको साथबाट उक्त पदार्थ फेला पारेको जनाएको छ ।


त्यसैगरी, कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणी दुई नम्बर चौराहाबाट १ ग्राम ८६० मिलिग्राम खैरो हेरोइनजस्तो पदार्थसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा २५ वर्षीय सुर्य नाथ, २८ वर्षीय रोहन बोहरा र २८ वर्षीय हिक्मत भण्डारी रहेका छन् ।
लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको जनाएको छ ।
यस्तै, बझाङको जयपृथ्वी नगरपालिका–१० बसपार्कस्थित किराना पसलबाट ३१४ ग्राम ८४० मिलिग्राम चरेसजस्तो देखिने कालो पदार्थसहित २५ वर्षीया साधना बोहरा पक्राउ परेकी छन् ।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलीले उनले सञ्चालन गरेको पसलमा खानतलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको जनाएको छ ।

















