बाजुरा – प्रतिनिधिसभा निर्वाचनका लागि बाजुराबाट प्रत्यक्षतर्फ उम्मेदवार बनेका ८ जनाले चुनावलाई शान्तिपूर्ण बनाउने सामूहिक प्रतिबद्धता जनाएका छन् । बिहीबार संयुक्त विज्ञप्ति निकालेर प्रतिस्पर्धी आठ उम्मेदवारले मतदान प्रक्रिया शान्तिपूर्ण, विश्वासिलो, पारदर्शी बनाउन प्रतिबद्ध रहेको जनाएका हुन् । निर्वाचनको प्रचारप्रसार मर्यादित र सौहार्दपूर्ण हुने उनीहरूले जनाएका छन् ।
एक उम्मेदवारले अर्को उम्मेदवारविरुद्ध व्यक्तिगत जीवनका विषयमा टिका टिप्पणी नगर्ने प्रतिबद्दता गरेका छन् । संयुक्त वक्तव्य निकाल्नेहरूमा नेपाली कांग्रेसका जनकराज गिरी, नेकपा एमालेका लालबहादुर थापा, नेकपाका प्रकाशबहादुर शाह, रास्वपाका हेमराज थापा, राप्रपाका केशरबहादुर शाही, नेकपा (माओवादी) का भुपेन्द्र विक, प्रलोपाका दिपक डिसी र स्वतन्त्र उम्मेदवार उपेन्द्र शाही छन् ।


उनीहरुले निर्वाचनको प्रचार र मतदान प्रक्रियामा कसैबाट कुनै पनि प्रकारका घुसपैठ, धाँदली, नक्कली प्रकृतिका कार्य तथा व्यवहार भएमा वा गरेको पाइएमा हामी संयुक्त रुपमा अस्वीकार गर्ने समेत प्रतिवद्धता जनाएका छन ।
यस्तै निर्वाचनको सम्बन्धमा उत्पन्न हुने विवाद आपसी सम्वादबाट व्यवस्थापन गर्ने, नेपाल सरकारले जारी गरेको निर्वाचन आचारसंहिता २०८२ को पूर्ण पालना गर्ने, गराउने, निर्वाचन प्रचार र मतदानको सम्बन्धमा स्वस्थ छलफल, छनौट र मतदान बाहेक हाम्रो उमेद्वारीको विषय बनाई व्यक्ति, समूह तथा समुदाय बीच द्वन्द्व र मनमुटाव उत्पन्न हुने कार्य नगर्न, नराउन अनुरोध समेत गरेका छन ।















